सीट बाँडफाट कार्यदलले बुझायो सुझाव प्रतिवेदन,सीट संख्याको निर्धारणको जिम्मा शीर्ष नेताहरुको थाप्लोमा
काठमाडौं, २३ भाद्र । सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले पार्टीहरुलाई प्रतिनिधि सभा र प्रदेश सभामा छुट्याइने सिट संख्याको किटान नगरी गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न नसके पनि सैद्धान्तिक रुपमा समझदारी भइसकेकाले शीर्ष तहमा नै सीटका कुरा टुंगिने गरी प्रतिवेदन बुझाइएको हो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने जानकारी दिनुभएको छ ।
कार्यदलमा संख्याबारे चित्त नबुझाएका जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रबारको बैठकबाट मात्रै निर्णायक टुंगो लाग्ने बताउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनले गठन गरेको कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति भने जुटाएको बताइएको छ ।
केही निर्वाचन क्षेत्रमा चारै दलले दाबी गरेकाले सहमति जुटिसकेको छैन।
सहमति जुटेको विषय समेटेर कार्यदलले प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुबीच सहमति प्रयास भएको थियो।
तर शीर्षमा पनि खासै प्रगति नभएपछि शुक्रबार दिउँसो ३ बजे भेट्ने गरी नेताहरु बालुवाटारबाट उठेका छन्।
आज दिउँसो सहमति जुटाउन कार्यदलको बैठक बसेको थियो।
तर बैठकमा काङ्ग्रेसले ९० सीटको अडान नछोडेपछि जसपाका नेताहरू दिउँसो राष्ट्रपति भेट्न शितल निवास जानुभयो।
जसपा नेताहरु अपरान्ह ४ बजे पछि बसेको बैठकमा पनि कुरा मिलेन।
जसपाले प्रदेश १ मा मोरङ ५ र धनकुटा मागेको छ। तर काङ्ग्रेसले दुईवटा दिन नसक्ने बताएपछि कुरा नमिलेको हो।


















