काठमाडौं, २३ भाद्र । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उम्मेद्वारी एक महिनापछि दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले बिहिबार उम्मेद्वारी दर्ता, दावी विरोध,फिर्ता र अन्तिम नामावली प्रकाशनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्य तालिका अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।
यस वर्ष हिन्दू नेपालीको ठूलो पर्व दशैंको टीका १९ असोजमा परेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी दर्ता हुनेछ । दशैंको लामो विदापछि २३ गते नै कार्यालय खुल्नेछ ।
त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।
२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुनेछ र चुनाव चिह्न पनि पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूची बुझाउने समय २ असोजलाई तोकेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।