लण्डन (संयुक्तअधिराज्य), २५ भाद्र(बीबीसी) । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधन भएको तत्क्षण कुनै समारोह आयोजना नगरी उहाँका उत्तराधिकारी वेल्सका पूर्वराजकुमार चार्ल्सलाई राजगद्दी हस्तान्तरण गरियो।
तर राजा बन्नका लागि धेरै वटा व्यावहारिक र परम्परागत चरणहरू पार गर्नुपर्ने हुन्छ।
सुरुआत सम्बोधनबाट
राजा चार्ल्स तृतीयको रूपमा शासन गर्ने वा अर्को नाम ग्रहण गर्ने भन्ने निर्णय गर्नु उहााँको पहिलो काम हुनेछ। जस्तै, उहाँका हजुरबुवा जोर्ज छैटौँको पहिलो नाम अल्बर्ट थियो, तर उहाँले आफ्नो बीचको नाम प्रयोग गरेर शासन गर्नुभयो। चार्ल्सले आफ्नो चारवटा नामहरू( चार्ल्स फिलिप आर्थर जोर्जमध्ये कुनै एक रोज्न सक्नुहुनेछ।
शाही उपाधि परिवर्तन उहाँँको मात्र हुने भने होइन।
प्रिन्स विलियम अब गद्दीको अर्को उत्तराधिकारी भए पनि उहाँ सोझै प्रिन्स अफ वेल्स बन्नुहुने छैन। यद्यपि उहाँले आफ्नो बुवाको अर्को उपाधि, ड्यूक अफ कोर्न्वलको उत्तराधिकार तत्काल प्राप्त गर्नुभयो। अब उहाँकी श्रीमती क्याथरिन डचिस अफ कोर्न्वलको रूपमा चिनिनुहुनेछ ।
अब चार्ल्सकी पत्नीको पूरा उपाधि क्वीन कन्सोर्ट हुनेछ। कोन्सर्ट राजाको धर्मपत्नीलाई सम्बोधन गरिने शब्द हो।
औपचारिक समारोहहरू
आमाको निधनको करिब २४ घण्टापछि चार्ल्सलाई आधिकारिक रूपमा राजा घोषणा गरिनेछ। उक्त समारोह लन्डनस्थित सेन्ट जेम्स दरबारमा उत्तराधिकारसम्बन्धी औपचारिक निकाय एक्सेशन काउन्सिलको उपस्थितिमा आयोजना हुनेछ।
उक्त निकायमा भूतपूर्व तथा वर्तमान वरिष्ठ सांसदहरूको समूह र माथिल्लो सभाका सदस्य रहने प्रिभि काउन्सिलका सदस्यहरू तथा केही वरिष्ठ निजामती कर्मचारीहरू, राष्ट्रमण्डल सदस्य देशका उच्चायुक्तहरू अनि लन्डनका लर्ड मेयर रहन्छन्।

प्रिन्स चार्ल्स
समारोहमा ७ सय भन्दाबढी मानिसको उपस्थिति हुनसक्छ तर छोटो अवधिमा विकास भएको घटनाक्रमका कारण उपस्थित हुनेहरूको सङ्ख्या निकै कम हुनसक्ने सम्भावना छ।
यसअघि सन् १९५२ मा भएको त्यस्तो समारोहमा २ सय मानिस उपस्थित थिए।
परम्पराअनुसार त्यहाँ राजा उपस्थित हुँदैनन्।
बैठकमा महारानी एलिजाबेथको निधनको खबर प्रिभि काउन्सिलकी अध्यक्ष (हाल सांसद पेनी मोर्डुअन्ट(ले घोषणा गर्नेछिन्। उक्त घोषणा वाचन हुनेछ।
घोषणामा प्रयोग हुने शब्दहरू परिवर्तन हुन सक्छन्। तर परम्परागत रूपमा यो रानी एलिजाबेथको प्रशंसा र नयाँ राजालाई समर्थनको वाचासहित प्रार्थना र प्रतिज्ञाहरूको शृङ्खला हुन्छ।
यस घोषणामा प्रधानमन्त्री, आर्चबिशप अफ क्यान्टरबरी तथा लर्ड चान्सलरसहित विभिन्न वरिष्ठ व्यक्तिहरूले हस्ताक्षर गर्नेछन्।
यी सबै समारोहमा नयाँ युगको सङ्केतका रूपमा केही परिवर्तन भएका अथवा थपिएका वा अद्यावधिक गरिएका विषयबारे धेरैले ध्यान दिनेछन्।
राजाको पहिलो घोषणा
प्रायः एक दिनपछि एक्सेशन काउन्सिलका सदस्यहरू फेरि जम्मा हुन्छन्। यसमा चाहिँ प्रिभि काउन्सिलसँगै राजा पनि उपस्थित हुन्छन्।
ब्रिटेनको राजाको शासनकालको आरम्भमा अमेरिकाका राष्ट्रपति वा अन्य राष्ट्रप्रमुखको नियुक्ति हुँदाको जस्तो ूशपथग्रहणू हुँदैन। तर त्यहाँ १८ औँ शताब्दीदेखिको परम्पराअनुसार नयाँ राजाद्वारा स्कटल्यान्डको चर्चलाई जोगाउने घोषणासहित शपथ लिइन्छ।
ट्रम्पेट बाजाको धुनसँगै चार्ल्सलाई नयाँ राजा घोषणा गरिनेछ। यो घोषणा सेन्ट जेम्स दरबारको फ्रायरी कोर्टमाथिको बरन्डाबाट गार्टर किङ अफ आर्म्स भनिने अधिकारीद्वारा गरिन्छ।

सन् १९६९ मा महारानी एलिजाबेथले छोरा चार्ल्सलाई प्रिन्स अफ वेल्सको उपाधि दिनुभएको थियो ।
उहाँले भन्नुहुनेछ, “ईश्वर, राजाको रक्षा गर” । र सन् १९५२ पछि पहिलो पटक राष्ट्रिय गान बज्दा “ईश्वर, राजाको रक्षा गर” भन्ने शब्दहरू पुकारिनेछ।
हाइड पार्क, टावर अफ लन्डन र जलसेना जहाजहरूबाट बन्दुकको सलामी दिइनेछ र चार्ल्सलाई राजा उद्घोष गर्ने घोषणा एडिन्बरा, कार्डिफ र बेल्फास्टमा पढिनेछ।
राज्यारोहण
नयाँ उत्तराधिकारी आगमनको उच्चतम क्षण चार्ल्सलाई औपचारिक रूपमा राजमुकुट पहिराइरनु हुनेछ। तयारीका लागि समय लाग्ने भएकाले उक्त कार्यक्रम केही समयपछि हुने बताइन्छ। महारानी एलिजाबेथ सन् १९५२ को फेब्रुअरीमा गद्दीमा बस्नुभएको थियो तर सन् १९५३ को जुनसम्म पनि त्यस्तो समारोह भएको थिएन।

विगत ९ सय वर्षदेखि त्यस्तो समरोह वेस्टमिन्स्टर एबीमा आयोजना गरिँदै आएको छ। विलियम द कन्करर त्यस्तो समारोह गर्ने पहिलो राजा हुनुहुन्थ्यो र चार्ल्स ४० औँ राजा हुनुहुनेछ।
यो एङ्ग्लिकन चर्चको धार्मिक समारोह हो जसलाई क्यान्टरबरीका आर्चबिशपले सञ्चालन गर्नुहुनेछ। समारोहको बीचमा धार्मिक गुरुले सेन्ट एड्वर्डको सन् १६६१ देखिको सुनौलो मुकुट चार्ल्सको शिरमा पहिराउनुहुनेछ।
यो टावर अफ लन्डनस्थित क्राउन जूअल्समा भएको मुख्य आकर्षणको वस्तु हो। यसलाई राजाले औपचारिक रूपमा राज्यारोहण गर्दाखेरि मात्र लगाउनुहुन्छ । यसको तौल २.२३ किलोग्राम हुन्छ।
राज्यारोहणको औपचारिक समारोह शाही विवाहजस्तो नभई सम्पूर्ण राज्यको उत्सव हो र यसको खर्च सरकारले बेहोर्छ र निम्तालुहरूको सूची पनि सरकारले नै निर्धारण गर्छ।
सन् १९५२ को जुन २ मा राजमुकुट लगाउने समारोहपश्चात् बकिङ्गम राजदरबारमा राजपरिवार
सङ्गीतमय उक्त कार्यक्रममा पाठ गरिन्छ र सुन्तला, गुलाब, दालचिनी, कस्तूरी र एम्बरग्रीसको तेल लगाएर नयाँ उत्तराधिकारीको अभिषेक हुन्छ।
नयाँ राजाले सर्वसाधारण मानिसहरूका अगाडि उभिएर राजमुकुट लगाउँदा शपथ लिनुहुनेछ। उक्त समारोहमा उहाँले आफ्नो नयाँ भूमिकाको प्रतीकको रूपमा राजदण्ड पाउनुहुनेछ। क्यान्टरबरीका आर्चबिशपले उहाँको शिरमा सुनको मुकुट राखिदिनुहुनेछ।
राष्ट्रमण्डलका प्रमुख
चार्ल्स अब राष्ट्रमण्डलका प्रमुख भएका छन्। यो ५६ स्वतन्त्र राष्ट्रहरू र २.४ अर्ब मानिसहरूको सङ्घ हो। उनी सङ्घका यूकेसहित १४ वटा सदस्य राष्ट्रका राष्ट्रप्रमुख हुनेछन्।
कमनवेल्थ भनिने राष्ट्रमण्डल देशहरूअन्तर्गत अस्ट्रेलिया, एन्टिगुआ, बार्बुडा, बहामस, बेलिज, क्यानडा, ग्रेनाडा, जमैका, पपुवा न्यूगिनी, सेन्ट क्रिस्टोफर र नीभीस, सेन्ट लुसिआ, सेन्ट भिन्सेन्ट, ग्रेनाडिज, न्यूजील्यान्ड, सोलोमन आइल्यान्ड्स र तुभालु रहेका छन्।


















