Prakash Adhikari September 9, 2022

काठमाडौं, २४ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो ।

विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै शुक्रबार शहर परिक्रमा गरेका थिए ।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो । विशिष्ट व्यक्तित्वहरुले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो ।

जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो । विदेशी पर्यटकसमेत जात्राको उत्सकुकतापूर्व अवलोकन गरिरहेका देखिन्थे ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।

इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजापाठ गर्नुभएको थियो ।

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रलाई पूजा गरेर उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । शुक्रबार विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् ।

इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुरलगायत नेवार बस्ती भएका धेरै ठाउँमा भगवान् इन्द्रलाई सम्झेर मनाउने चलन छ। वैदिक कालका भगवान् इन्द्रको ठूलो महत्त्व छ।

इन्द्रजात्राका लागि काभ्रेको नालाबाट ल्याइएको ‘यँंसी’ अर्थात् इन्द्रध्वज ठड्याउने चलन छ। इन्द्रध्वज वा नेपाल भाषामा यम्बद्यो ठाउँठाउँमा उठाउने चलन छ। विभिन्न विधि र विधानसहित एक सातासम्म मनाइने गरिन्छ।

आजभन्दा १५ सय वर्ष अगाडि नेपाल मण्डलको समाजमा इन्द्रध्वज खडा गरेर धूमधामसँग यो जात्रा मनाउने चलन थियो। विभिन्न कालखण्डमा विभिन्न शासकले विधिविधान थप्दै लगेका हुन् ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भएर यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरेर यो जात्रा सम्पन्न गरिन्छ।

यस बर्ष २३ भाद्रमा हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरेर इन्द्रजात्राको शुभारम्भ गरिएको थियो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको परामर्श अनुसार बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको थियो।

भदौ २५ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने कार्यक्रम छ।

भदौ २९ गते बुधबार नानिचा यात्रा गरिन्छ। त्यसै दिन बेलुकी ७ः३३ बजे इन्द्रध्वजपतनको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभएको छ।

यसै दिन इन्द्रध्वजपतन गरेपछि राष्ट्राध्यक्षले हनुमानढोका दरबार पुगी श्रीकुमारीबाट इन्द्रजात्राको प्रसाद ग्रहण सांस्कृतिक परम्परा रहिआएको छ।

 

Share Now

Leave a comment.