काठमाडौं, २६ भाद्र । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज विधिवत् सुरु भएको छ।
आज एकै दिन परेवा र द्धितीय तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नु पर्नेछ । त्यसपछि द्धितीया तिथि लाग्दछ र सो तिथिमा दिवंगत पितृहरुको संझनामा पिण्डदान हुनेछ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको हो ।
सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने छ र जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्न हुँदैन । कुनै कारणवश सोह्र श्राद्ध रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म र यो समयमा रोकिएकमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ। कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको बताइन्छ।
यस वर्ष असोज १ गते कुनै पनि तिथिको श्राद्ध परेको छैन भने भदौ ३१ गते सप्तमी तिथि श्राद्ध परेको छ। अष्टमी तिथि भने असज २ गते परेको छ।


















