Prakash Adhikari September 12, 2022

काठमाडौं, २६ भाद्र । लगानी बोर्डले यही भदौ २९ गते ‘दिगो पूर्वाधार लगानी फोरम’ आयोजना गर्ने भएको छ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि जीआरआईडी अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले लगानी फोरम आयोजना गर्न लागेको लगानी बोर्डले जनाएको छ।

नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने बोर्डले अपेक्षा गरेको छ।

बोर्डले लगानीकर्ता, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञविशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको जनाएको छ।

कार्यक्रमको उद्‌घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ।

एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरूबीच सैद्धान्तिक बहस हुनेछ।

रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका (बिजनेस गाइड) सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको थियो ।

उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ।

उद्‌घाटन सत्रसहित कार्यक्रममा परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारी गराइनेछ।

कार्यक्रममा नेपालमा जलवायु वित्तको स्थिति, नेपालको ऊर्जा ट्रान्जिसनमा लगानी तथा दिगो लगानीको लागि नेपालको अवस्था जस्ता सत्रहरू सञ्चालन हुनेछन्।

Share Now

Leave a comment.