Prakash Adhikari September 12, 2022

काठमाडौं, २७ भाद्र । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६०औं वार्षिकोत्सव कार्यक्रममा भव्य रुपमा मनाएको छ ।

६० औं बार्षिकोत्सवको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले  साल्ट ट्रेडिङ कर्पोरेशनलाई सेवा र नाफा दुवैमा ध्यान दिन अनुरोध गर्नुभएको थियो ।

सहसचिव डा. रेग्मीले साल्ट ट्रेडिङले नेपाली नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नून उपलब्ध गराएको प्रशंसा पनि गर्नुभएको थियो ।

उहाँले साल्ट ट्रेडिड.ले चिनी,दाल, तोरीको तेल, चामल जस्ता खाद्य सामग्री, ग्यासजस्ता दैनिक उपभोग्य बस्तुको कारोबार गरेर बजारमा मूल्य नियन्त्रण र गुणस्तर कायम गर्न सघाएको पनि बताउनुभयो । उहाँले नेपाली किसानहरुलाई मल उपलब्ध गराएर कृषि उत्पादनमा पनि यसले योगदान गरेको बताउनुभयो ।

सहसचिव डा. रेग्मीले साल्ट टे्रडिड.ले लगानी गरेका कतिपय उद्योगहरु बन्द भएकोले लगानीको पक्षमा चनाखो बन्न पनि ब्यवस्थापनलाई सुझाव दिनुभएको थियो ।उहाँले कम्पनीलाई अझै बढी प्रतिस्पर्धात्मक बनाउन आधुनिक सूचना प्रविधिमा उत्तिकै ध्यान दिन अनुरोध गर्नुभएको थियो ।उहाँले संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरुलाई पनि अनुरोध गर्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनले एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ ।
दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र शुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने तयारी गरेको छ ।

साल्ट ट्रेडिङले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी थालेको हो ।

उपोभोक्तालाई गुणस्तरीय खाने तेल उपलब्ध गराउन चितवनलगायत तराईमधेशका कृषकबाट तोरी खरिद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्ने जानकारी साल्ट ट्रेडिड.ले दिएको छ ।

कार्यक्रममा साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम उपभोक्ताहरूको हितलाई केन्द्रमा राख्दै संस्थाले व्यवसायिक क्रियाकलाप गर्दै आएको बताउनुभयो। उहाँले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गरेको ५९ वर्ष पूरा गरेको बताउनुभयो।

उहाँले कर्पोरेसनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गर्ने बताउनुभयो ।

कर्पोरेसनले आपूर्ति र वितरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बाबजुद पनि आम उपभोक्ताको सेवामा सदैव सकृय रही र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उत्कृष्ट कर्मचारी पुरस्कृत

वार्षिक उत्सव कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मीदास मानन्धरको नामबाट इटहरीस्थित निसहाय बालगृहलाई ताम्रपत्रसहित ७५ हजार रोशीको बाल हितकारी पुरस्कारबाट सम्मान गरिएको छ।

साल्ट ट्रेडिङले वर्षका लागि जनही ३० हजार राशिको हेम बहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कारबाट अधिकृतस्तरतर्फ विष्णु प्रसाद न्यौपानेलाई प्रदान गरेको छ। गैरअधिकृतस्तरतर्फ तेज बहादुर कार्की र स्तरविहीनतर्फ राधेश्याम खड्कालाई सम्मानित गरेको छ।

ईश्वर लाल श्रेष्ठ उत्कृष्ट कर्मचारी सेवा पुरस्कारबाट विभागीय प्रबन्धक सबल रिजाल र सहायकस्तरमा काजीबहादुर पराजुली र सवारी चालक मंगलबहादुर लामालाई पुरस्कृत गरिएको छ।

एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कार्यालयमा कार्यरत तेज बहादुर कुँवरका छोरा पर्सव कुँवर र कृष्णकुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई २ वर्षसम्म मासिक ३ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ।

६०औँ वर्षमा साल्ट ट्रेडिङ, एसटीसी ब्राण्डको तोरीको तेल बजारमा ल्याउँदै

Share Now

Leave a comment.