Prakash Adhikari September 12, 2022

 

काठमाडौं, २७ भाद्र । नेपालमा मंसिर ४ गते हुने निर्वाचनको लागि राजनीतिक दलहरुबीच गठबन्धन निर्माण गर्ने र उम्मेद्वार चयनको तयारी भैरहेको बेला मित्र राष्ट्र चीनको तेस्रो वरियताका नेता तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौं आइपुग्नुभएको छ ।

नेपालका सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चिनिया जन कंग्रेसका अध्यक्ष चान्सु करिब ६७ जनाको जम्बो प्रतिनिधि मण्डलसहित साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो।

अध्यक्ष चान्सुलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।

६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

सोल्टी होटलमा केही क्षण विश्राम गरेपछि चिनिया पाहुना चान्सु सभामुख सापकोटासँग द्विपक्षीय भेटघाटका लागि संघीय संसदभवन नयाँ बानेश्वर पुग्नुभएको थियो ।

भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहनुभएको बताइएको छ ।

आज अपरान्ह संघीय संसद भवनमा दुवै देशका सभामुखबीच भेटवार्ता भएपछि नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।


उक्त समझदारीपत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व गरेका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले हस्ताक्षर गर्नुभएको छ।

समझदारीमा दुवै पक्षले एकअर्काको विधायकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने कुरा उल्लेख छ ।

दुई संसदबीचको समझदारी पत्रमा चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएभिडबारे पनि उल्लेख गरिएको छ।

ुदुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन्ु, समझदारी पत्रमा भनिएको छ।

त्यसैगरी समझदारी पत्रमा दुवै पक्ष साझा हितको विषयमा इन्टर पार्लियामेण्टरी युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरुको खाका अन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएको पनि उल्लेख छ।

अध्यक्ष चान्सुको भ्रमणतालिका

आज सभामुख सापकोटाले समकक्षी लीको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

भ्रमणको दोस्रो दिन मंगलबार बिहान ९ बजे चिनिया पाहुनाले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँ ले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने छ ।

उक्त भेटवार्तापछि होटल सोल्टीमा दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्कासँग उहाँको भेटवार्ता हुने छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएपछि चिनिया जनकंग्रेसका अध्यक्ष चान्सुले अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँको सरकारी निवास बालुवाटारमा भेट्ने कार्यक्रम छ ।

भ्रमणको तेस्रो दिन बुधबार बिहान चिनिया पाहुनाले भक्तपुर भ्रमण गर्नुहुनेछ । सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँको भेट हुनेछ ।

राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुनः भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल नेपालबाटै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.