काठमाडौं, २८ भाद्र। नेपाल भ्रमणमा रहुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले आज नेपालका पूर्वप्रधामन्त्रीद्धय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग अलग अलग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुभएको छ ।
वार्तामा चिनिया नेता चान्सुले चीनलाई अप्ठ्यारो पार्ने काम नगर्न हुन नदिन आग्रह गर्नुभएको बताइएको छ ।
मंगलबार विहान नयाँ बानेश्वरस्थित संसद भवनमा नेकपा एमाले अध्यक्ष ओली र उहाँको प्रतिनिधि मण्डलसंग भएको भेटमा चाङ्सुले चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउनुभएको थियो।
वार्तामा बीआरआइ, तातोपानी र रसुवा नाका खोल्ने विषय, नेपालको पछिल्लो राजनीतिक अवस्था, एक चीन नीति र पार्टीगत विषयमा कुरा भएको थियो।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्ष ओलीले रणनीतिक योजना भएको बीआरआइबारे चासो राख्नुभएको थियो। उहाँले ‘बीआरआइ परियोजनामा नेपालले गरेको सम्झौता यथाशिघ्र कार्यान्वयन गराएर यसबाट लाभ लिनुपर्छ भन्ने कुरामा आफ्नो पार्टी प्रतिबद्ध भएको बताउनुभएको थियो । उहाँले नेपालको विकास निर्माणमा चीनले गर्दै आएको सहयोग पनि सराहना गर्नुभएको थियो ।

पूर्व प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिवद्ध रहेको र यसमा सशंकित नहुन पनि आग्रह गर्नुभयो ।
जवाफमा चिनियाँ कंग्रेस अध्यक्ष चाङ्सुले चीन–नेपाल सम्बन्ध निकै पुरानो रहेको बताउदै भन्नुभयो, ‘चीन–नेपाल सम्बन्ध निकै पुरानो हो, हामी असल र पुरानो छिमेकी हौँ । चीनलाई अप्ठेरो पर्ने कुरा नेपालबाट हुने छैन भन्ने कुरामा हाम्रो पूरै विश्वास छ।’
उहाँले नेपालमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट स्थिति अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
माओवादीसंग एमसीसीको चासो
आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र उहाँको साथमा रहेको पार्टी प्रतिनिधि मण्डलसंग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले भेटवार्ता गर्नुभएको छ ।
नेकपा माओवादीको प्रतिनिधि मण्डलसंग चिनिया पाहुनाले तिब्बती शरणार्थी परिचय पत्र र नेपालबाट पास भएको एमसीसी परियोजनाको विषयमा जिज्ञासा राख्नुभएको थियो।
माओवादी केन्द्रका अध्यक्षसहित पदाधिकारीसँग उहाँले मंगलबार संसद भवन नयाँ बानेश्वरमा भेट गर्नुभएको थियो।

जवाफमा माओवादी अध्यक्ष प्रचण्डले नेपालको भूगोलबाट चीनविरुद्धको कुनैपनि गतिविधि हुन नदिने प्रष्ट पार्नुभएको बताइएको छ ।
एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध भएकोले चीनविरुद्ध कुनैपनि गतिविधि हुँदैन, चीनसँग सीमा जोडिएको क्षेत्र वरिपरिका भौगोलिक सीमाना, र भूगोलमा त्यसखालको गतिविधि हुन दिदैँन।’ उहाँले भन्नुभएको थियो ।
प्रचण्डले एमसीसी पास गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरिएको र त्यो ऐनकै रुपमा रहेको प्रष्ट पार्नुभयो ।
उहाँले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर संसदबाट नेपालको हितमा हुनेगरी, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा असर नगर्ने गरी एमसीसी पास गरिएको बताउनुभयो ।
उहाँले नेपालको रणनीतिक विकासमा चीनले साथ र सहयोग गर्ने विषय प्राथमिकतामा राखिदेओस् र ‘ठूलाठूला आयोजनामा लगानी र साझेदारी गरेर नेपालको विकासलाई सघाओस भन्ने भावना व्यक्त गर्नुभयो ।
जवाफमा चाङ्सुले सीमा नाकाको अवरुद्ध खुलाउन चिन्तित रहेको बताउँदै दसैँ, तिहार अघि नै सहज रुपमा नाका खोल्ने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभएको थियो।
चाङ्सु सहितको टोलीमार्फत प्रचण्डले चिनियाँ २० औं राष्ट्रिय कंग्रेसको शुभकामना पनि दिनुभएको थियो ।


















