काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली चान्सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको पनि जानकारी दिनुभएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्र विकासमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले नेपाल र चीनबीचको सम्बन्धलाई थप न्यायो पार्न सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्त पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लीले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनुभयो ।
उहाँले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिनुभयो।
अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गर्नुभयो ।
उहाँले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिनुभयो । उहाँले नेपालको सार्भभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताउनुभयो ।


















