Prakash Adhikari September 13, 2022

 

काठमाडौं, २८ भाद्र । साविक विजेता भारतमाथि ऐतिहासिक जित निकाल्दै बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भारतमाथि बंगलादेशले ३–० को सानदार जित दर्ता गर्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

मंगलबार १२ औँ मिनेटमा बंगलादेशले गोल गर्दै खेलमा सुरुवाती अग्रता बनायो।

बगंलादेशका लागि श्रीमती कृष्णरानी सरकारको पासमा जहान स्पोप्नाले गोल गरिन्।

खेलको २२ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन्।

खेलको ५२ औँ मिनेटमा जहान स्वोप्नाले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्।

​स्पोप्नाले सबिना खातुनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेकी हुन्।

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ।

मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले ऐतिहासिक जित निकालेसँगै भारतले घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो।

समूह चरणमा अपराजित रहेर अन्तिम ४ मा पुगेको बंगलादेशले भने फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता टोली भुटानसँग खेल्नेछ।

साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको हो।

च्याम्पियनसिपको दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ।

पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा नेपाल भारत भिड्ने छन्।

पहिलो सेमिफाइनल खेल दिउँसो १ बजे र दोस्रो सेमिफाइनल साढे ५ बजे हुनेछ।

 

Share Now

Leave a comment.