Prakash Adhikari September 14, 2022

 

काठमाडौं, २९ भाद्र । नेपाल आयल निगमले आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर आपूर्ति व्यवस्था सहज पार्न आग्रह गरेको छ।

निगमले आन्दोलनरत व्यवसायीलाई मंगलबार पत्र लेख्दै हवाइ इन्धन उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो ।

व्यवसायीहरुले मंगलबार (भदौ २८ गते) पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रुपले ठप्प पार्ने गरी अवरोधका कार्यक्रमहरू गरेपछि निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

भदौ २४ बाट देशभरका सम्पूर्ण व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय गरी माग पूरा ढुवानी सुचारु नगर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

निगमले ढुवानी व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पीडीओ नलिएको हुँदा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको जनाएको छ ।

निगमले भनेको छ, ‘कोरोना भाइरसको महामारी पश्चात् विस्तारै मुलुकका आर्थिक गतिविधिहरु पुनः लयमा फर्किँदै गरेको यस अवस्थामा अत्यावश्यक पेट्रोलियम पदार्थहरूको आपूर्ति व्यवस्थालाई खलल पार्ने गरी विरोधका कार्यक्रमहरु तहाँबाट सञ्चालन गर्दा नजिकिँदै गरेको महान चाडपर्वहरूको पूर्वसन्ध्यामा विभिन्न विदेशी हवाई कम्पनीहरूले नयाँ तथा थप उडान सञ्चालन गर्ने जानकारी निगमलाई प्राप्त भएको अवस्थामा निजी पेट्रोलियम व्यवसायीहरूको हड्तालका कारण हवाई इन्धन उपलब्ध गराउन नसकिने भनी नागरिक उड्यन प्राधिकरण मार्फत् जानकारी गराउनु पर्दा निगमलाई अत्यन्त दुःख लागेको छ।’

निगमले व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा हवाइ इन्धन उपलब्ध गर्न नसकिने अवस्था आएको जनाएको छ।

विभिन्न माग राखी आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आगामी असोज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएको छ।

महासंघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै भदौ २९ गतेबाट अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने जनाएको छ।

महासंघले राखेका मागप्रति विभिन्न चरणमा सकारात्मक छलफल भइरहेको स्पष्ट पार्दै निगमले देशको कानुनी व्यवस्थालाई ख्याल गरी बन्द हड्तालका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेको छ।

Share Now

Leave a comment.