काठमाडौं, २९ भाद्र । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र नेपाल आयल निगमका बीच तीन बुँदे सहमती भएको छ । यो सहमतीसँगै पेट्रोल ढुवानी व्यवसायीको आन्दोलन फिर्ता भएको छ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र पेट्रोल ढुवानी व्यवसायी महासंघका पदाधिकारीबीच भएको छलफलमा तीन बुँदे सहमति भएको हो।
सहमतिसँगै पेट्रोल ढुवानी व्यवसायी आन्दोलनका कार्यक्रम फिर्ता लिएर ढुवानी सेवा सुचारु गर्न सहमत भएका हुन्।
व्यवसायीको माग अनुसार भाडा वृद्धि सम्बन्धी प्रतिवेदन आगामी असोज ७ गते भित्रमा लागू गर्ने, नेपाल पेट्रोल टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका माग आवश्यक छलफल गरी सम्बोधन गर्न सरकार तयार भएको छ।
यस्तै पेट्रोल ढुवानी व्यवसायी महासंघ पनि आन्दोलन फिर्ता लिएर बुधबारदेखि आपूर्ति सहज बनाउन सहमत भएको छ।


















