Prakash Adhikari September 15, 2022

 

काठमाडौं, ३० भाद्र । नेपालको चार दिवसीय भ्रमणमा आउनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु आज काठमाडौंबाट फर्कदै हुनुहुन्छ।

ली नेतृत्वको चिनियाँ भ्रमण टोली आज बिहान साढे १० बजे विशेष विमानबाट बेइजिङ हुँदै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले समकक्षी लीलाई बिदाइ गर्ने कार्यक्रम छ।

अध्यक्ष ली काठमाडौं आएकै दिन सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गर्नुभयो भने भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो।

बुधबार दिउँसो लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो।

लीको चासो बेल्ट एण्ड रोड परियोजनामा

हुन त आएकै दिन नेपालका सभामुखसंग गरिएको द्धिपक्षीय समझदारी पत्रमा पनि बेल्ट एण्ड रोड अन्तरगत परियोजनाहरु कार्यान्वयनको बूँदा राखिएको छ । उहाँले यो विषय नेकपा एमालेका अध्यक्ष के.पी.ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटमा पनि प्रमुख चासोको साथ उठाउनुभयो ।

चिनियाँ नेता ली ले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई)को फ्रेमवर्कभित्र रही दुई देशका शीर्ष तहमा भएका सहमतिअनुसार आगामी दिनमा नेपालसँगको सहकार्य अघि बढाउन चीनले चाहेको बताउनुभएको थियो।

उहाँले राष्ट्रपति सिको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए।

भेटवार्ताको अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सिको तीन वर्षअघिको नेपाल भ्रमणमा भएका सम्झौता चीन र नेपालको मित्रता बढाउनका अलावा नेपालको विकासका लागि महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनबीच हालैका वर्षमा भएका सम्झौता र सहमति कार्यान्वन हुनुपर्ने बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीले पनि चीनको भ्रमण गर्नुभएको थियो ।

उहाँले नेपाल र चीनबीच भएका विकास, पारस्परिक हित र व्यापार अभिवृद्धिका सम्झौता कार्यान्वयन गर्न दुवै देशले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल विश्वशान्तिको पक्षमा रहेको, असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र एक चीनप्रति प्रतिबद्धता जनाउँदै नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिइने समेत बताउनुभएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो।

भेटवार्तामा चिनियाँ नेता लीले नेपाल र चीनका सिमानाका मुख्य नाका तातोपानी र रसुवागढी दशैँअघि सञ्चालनमा आउने बताउनुभएको थियो।

Share Now

Leave a comment.