Prakash Adhikari September 16, 2022

काठमाडौं, ३१ भाद्र। कुवेतको जजिरा एअरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन उडान गर्ने भएको छ ।

जेठबाट साताको तीन उडान गर्दै आएको कुवेतको जजिरा एयरवेजले शुक्रबारदेखि सात उडान सुरु गरेको हो।

“आजबाट जजिराले साताको सातैवटा उडान सुरु गरेको छ। पछिल्लो समय यात्रु माग वृद्धि भएसँगै कम्पनीले आफ्नो उडान संख्या विस्तार गरेको हो”, विमानस्थल कार्यालय प्रवक्ता सुवास झाले भन्नुभयो,”श्रमको कार्यालय संचालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ।”

आउँदो अक्टोबर ३० बाट अबुधाबी बेस रहेको विज एयरले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने अनुमति पाइसकेको छ । उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि केही दिनअघि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्सन लेटर’ पाइसकेको छ।

बिज एअरको उडान तालिका निश्चित हुन बाँकी रहेको छ।

जजिराले जेठ २ गतेबाट साताको तीनवटा उडान गर्दै आएको थियो। यो विमानस्थलबाट आउजाउ गर्ने यात्रुलाई जजिराले त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थल (टीआइए)को भन्दा २० प्रतिशत सस्तो भाडादरमा सेवा दिँदै आएको छ।

दुई वर्षअघि नेपाल उडान सेवा सुरु गरेको जजिराको जनरल सेल्स एजेण्ट(जीएसए) सोसाइटी ट्राभल हो।

सञ्चालनमा आएको तीन महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ११ हजार यात्रुले उडान अवतरण सेवा लिइसकेका छन्।

यो विमानस्थलबाट ६० प्रतिशत यात्रु तराई क्षेत्रबाट वैदेशिक रोजगारका लागि जाँदै आएका छन्।

प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ।

Share Now

Leave a comment.