(डन(संयुक्त अधिराज्य), ३ असोज(बीबीसी) ।ब्रिटेनको राजधानी लण्डनस्थित प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा ब्रिटेनमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्य सम्पन्न भएको छ।
त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित हुनुहुन्थ्यो।
द डिन अफ वेस्टमिन्स्टरले उक्त समारोहको नेतृत्व गर्ने क्रममा “आजीवन बहन गरेको उत्तरदायित्व”प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।
राजा चार्ल्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबीसम्मको शवयात्राको नेतृत्व गर्नुभएको थियो।
डीन डेभिड होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले “महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता ‘ प्रस्तुत गरेको बताउनुभएको थियो।
उहाँले भन्नुभयो, “सम्मानसाथ हामीले उहाँको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ।”

वेस्टमिन्स्टर हलबाट शवयात्रा निस्किँदा महारानीको शवपेटिका पछिपछि राजपरिवारका सदस्यहरू हिँड्नुभएको थियो ।

राजकुमार विलियम र राजकुमार ह्यारी शवयात्रामा आफ्ना पिता राजा चार्ल्ससँगसँगै हिँड्नुभएको थियो ।
महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ।
प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गर्नुभयो।
एक वरिष्ठ धर्मगुरु आर्चविशप अफ क्यान्टरबरी जस्टिन वेल्बीले उपदेश दिए र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै “वी विल मिट अगेन” (हामी फेरी भेट्नेछौँ) भन्नुभयो।
उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गर्नुभएको थियो।
आर्चविशप वेल्बीले भन्नुभयो, “यस दिनको शोक( दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ – उहाँको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट गएको छ।”
उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो।

महारानीप्रति सम्मान प्रकट गर्न चढाइएका पुष्पगुच्छा र हस्तलिखित सन्देश

अमेरिकी राष्ट्रपति जो बाइडन र उनकी श्रीमती वेस्टमिन्स्टर हलमा उपस्थित हुनुभएको थियो ।
लण्डनस्थित एक प्रसिद्ध युद्ध स्मारक वेलिङ्टन आर्चबाट दिवंगत महारानीको शव राखिएको पेटिका नयाँ राजकीय शववाहनमा स्थानान्तरण गरेर त्यो विन्डसर कासलतर्फको अन्तिम यात्रामा लगिएको छ।
विन्डसर कासलमा रहेको गिर्जाघर सेन्ट जोर्जेज् च्यापलमा महारानीको शव पेटिका समाधिस्थ गरिनुअघिका धार्मिक र परम्परागत कार्यहरू हुनेछन्।

शवयात्रा मार्गमा जम्मा भएका मानिसहरू अन्तिम संस्कार समारोहका लागि मौन भएका थिए
त्यहाँ झण्डै ८०० जना पाहुनाको उपस्थितिमा डीन अफ विन्डसर डेभिड कोनरले त्यस्तो धार्मिक कार्य सम्पन्न गर्नेछन् र आर्चविशप अफ क्यान्टरबरीले प्रार्थना र आशीर्वाद दिनेछन्।
त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उनका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिनेछ।



















