Prakash Adhikari September 20, 2022

 

काठमाडौं, ४ असोज । नेपालका चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन २०२२ आजबाट सुरु भएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट सुरक्षित बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कोभिड –१९ महामारी होस् वा अहिले देखिएको डेंगु नै किन नहोस् सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ ।’’

प्रधानमन्त्री देउवाले सम्मेलनमा हुने छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाव सल्लाह नेपाल सरकारको आधिकारिक दस्ताबेजको रूपमा रहन सकोस् भन्ने अपेक्षा राखेको पनि जानकारी दिनुभयो ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले दोस्रो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकोस् भन्ने धारणा राख्नु भएको छ ।

सङ्घले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ ।


सम्मेलनको पहिलो दिन आज तीन वटा विषयमा दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनको पहिलो दिन सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर र चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा विषयमा छलफल भएको छ ।

यस्तै, बुधबार महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू, खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना तथा चिकित्सा शिक्षामा असर र अवसर विषयमा छलफल हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

सचिव पोखरेलले भन्नुभयो, ‘‘सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरू बनाउन सक्नेछ ।’’

यो सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेषगरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास लिएको उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भईनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्‍याउन सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो ।

उद्घाटन शत्रमा सम्मेलन आयोजक समितिका अध्यक्ष डा. अन्जनीकुमार झाले महत्त्वपूर्ण विषयवस्तु माथि गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने रणनीतिक योजना र नीतिलाई मार्गनिर्देश गर्न सहजीकरणको भूमिका खेल्ने अपेक्षा गरेको बताउनुभयो ।

सम्मेलनमा देशभरबाट ५ सयभन्दा बढीको सहभागिता रहेको छ । जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने सङ्घको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न सुरु गरिएको सङ्घका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.