Prakash Adhikari September 21, 2022

काठमाडौं, ५ असोज । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो महिना अर्थात भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरेको हो।

यसबाट २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन भएको छ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

सुरुमा त्रिशुली र देविघाट जलविद्युत गृहबाट उत्पादिन ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो।

त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ। भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ।

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट ९भारु० नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ।

‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो।

आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ।

Share Now

Leave a comment.