काठमाडौं, ५ असोज । काठमाडौंको कपनमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।
बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा अकिसजन ग्यास पड्केर आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिनुभएको छ।
काठमाडौंको कपनमा आगलागी भएको कार्यालय चर्चित हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ)को भएको पाइएको छ।
बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा रहेको एलिट हिमालयन एड्भेन्चरको कार्यालयमा आगलागी भएको हो। यो कार्यालय हिमाल आरोही पुर्जा र उहाँका साझेदारहरूको हो।
यही टिमका सदस्य मिङ्मा डेभिड शेर्पाका अनुसार उनीहरूको कार्यालयमा ट्रेकिङ र हिमाल आरोहणका निम्ति राखिएका अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको हो।
मृतकमध्ये एक जना आफ्नै भाइ रहेको मिङ्माले जानकारी दिए। बाँकी उनका कार्यालयका कर्मचारी हुन्।
मृतक र घाइतेहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ। घाइतेको संख्या यकिन भइसकेको छैन।


















