नोम्पेन्ह(कम्बोडिया), ६ असोज । नेपालको प्रतिष्ठित नबिल बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्ड प्राप्त गरेको छ ।
यही असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रडक्ट इन्नोभेसन अफ दि इयर २०२२’ दुईवटा पुरस्कार पाएको हो।
अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो।
बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएका कारण आइएफसी र एसएमइबाट सम्मानित भएको जनाएको छ।
विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ।
तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेतले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिंगो राष्ट्रका लागि गौरवको क्षण भएको बताउनुभएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता संकटको समस्यालाई पहिचान गरी समाधान गर्न ध्यान दिइने बताउनुभयो ।
नवौं ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोम्हपेन्हमा आयोजना भएको थियो।
यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो।
सो सम्मेलनले हरित वित्त प्रवर्द्धन, आपूर्ति श्रृंखला, दक्षता, डेटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवर्द्धन जस्ता विषयमा छलफल गरेको थियो ।
कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो।


















