क्वाललम्पुर(मलेशिया), २६ असोज । विश्वकै पाका राजनीतिज्ञमध्येका एक महाथिर मोहम्मद मलेसियाको आम चुनावमा फेरि उठ्ने हुुनुभएको छ । उहाँको ९७ वर्ष पुगिसकेको छ।
देशको नेतृत्व गर्नका लागि मुलुक र जनताप्रतिको प्रतिबद्धता महत्वपूर्ण हुन्छ, उमेर त्यसमा बाधक हुँदैन भन्ने सन्देश महाथिरको उम्मेद्वारीले दिएको छ ।
महाथिर पटक पटक प्रधानमन्त्री भइसक्नुभएको छ। पहिलो पटक प्रधानमन्त्री बनेपछि उहाँ सो पदमा निरन्तर २२ वर्ष कायम रहनुभयो। आफूभन्दा कान्छो वयका प्रधानमन्त्री भ्रष्टाचार र अन्य विषयमा विवादमा आएपछि उहाँ २०१८ मा उहाँ ९२ वर्षको उमेरमा पनि प्रधानमन्त्री बन्नुभयो र मुलुकलाई ऋणको पासोबाट उम्काउन त्यसपहिलेको सरकारले चीनसंग गरेका कतिपय संझौता रद्द गर्नुभयो।
महाथिर मोहम्मद केही समयअघि मुटुको समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । तर, अहिले आफू आफ्नो सिटको रक्षा गर्नसक्नेगरी स्वस्थ भएको उहाँको भनाइ छ।
आफ्नो गठबन्धनले चुनाव जिते प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने चाहिँ उहाँले खुलाउनुभएको छैन।
‘प्रधानमन्त्रीको को बन्ने भन्ने हामीले निर्णय गरेका छैनौँ। किनभने प्रधानमन्त्रीको उम्मेदवारी हामीले जित्यौँ भने मात्रै सान्दर्भिक हुन्छ,’ महाथिरले पत्रकार सम्मेलनमा भन्नुभएको थियो।
सोमबार मलेसियाको संसद् भंग गरिएको छ। जसले नयाँ आम चुनावका लागि बाटो खोलेको छ। सो चुनावले जारी राजनीतिक अस्थिरता अन्त्य गर्ने अपेक्षा लिइएको छ।
महाथिर १९६४ मा पहिलो पटक सांसद बन्नुभएको थियो। १९८० को दशकदेखि मलेसियाको तीव्र आर्थिक विकासको जस उहाँलाई जाने गर्छ।
प्रधानमन्त्री नाजिब रज्जाकमाथि सरकारी कोषको करोडौँ डलर हिनामिना गरेको आरोप लागेपछि उनलाई चुनौती दिन २०१८ मा महाथिर सन्यास फिर्ता गरेर राजनीतिमा फर्कनुभएको थियो।
पुराना प्रतिस्पर्धी अनवर इब्राहिमको सहयोगमा उहाँ फेरि प्रधानमन्त्री बन्नुभयो जबकी नाजिब भने भ्रष्टाचार आरोपमा जेल पर्नुभयो।
तर, सो गठबन्धन टिकेन र २०२० मा महाथिर पदच्यूत हुनुभयो।
महाथिरलाई विगतमा हृदयघात भएको थियो र बाइपास सर्जरी गरिएको थियो। कोभिडका कारण अस्पताल भर्ना भएका उहाँ गत महिना मात्र डिस्चार्ज हुनुभएको थियो।(स्रोतः बीबीसी )


















