Prakash Adhikari October 12, 2022

 

काठमाडौं, २६ असोज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल ५ हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।

निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १ सय ६५ सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र गरी कुल २ हजार ४ सय १२ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन्।

त्यसमध्ये २ हजार १ सय ८७ जना पुरुष र २ सय २५ जना महिला रहेका छन्। यो बुधवार साँझ ८ बजेसम्म यकिन गरिएको देशैभरिको विवरण भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताउनुभयो।

उहाँले थप्नुभयो, “यो प्रारम्भिक विवरण हो। त्यसैले यसमा एकाध विवरण घटबढ पनि हुनसक्छ।”

निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार गत आइतवार दशैभरि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका लागि उम्मेदवारी दर्ता भएको थियो।

प्रदेशसभामा कतिको प्रतिस्पर्धा ?

भुसालले दिएको जानकारी अनुसार देशका सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ कुल ३ हजार २ सय २४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल निर्वाचन
त्यसमध्ये २ हजार ९ सय ४३ जना पुरुष र २ सय ८० जना महिला रहेका छन्। त्यस्तै प्रदेशसभामा आफ्नो लैङ्गिक पहिचान ुअन्यु भनेर चिनाउने एकजनाले पनि उम्मेदवारी दिएका छन्।

देशका सातवटै प्रदेशमा गरी प्रत्यक्षतर्फ कुल ३ सय ३० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

गत आइतवार उम्मेदवारी दर्ता गराएकामध्ये उजुरीका आधारमा खारेज भएका र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर बुधवार आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो।

संघीय संसदमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जितेका महिला

  • १२.५ प्रतिशत पहिलो संविधानसभा निर्वाचन २०६४
  • ४.१६ प्रतिशत दोस्रो संविधानसभा निर्वाचन २०७०
  • ३.६ प्रतिशत गणतान्त्रिक नेपालको सङ्घीय संसदको पहिलो आमनिर्वाचन २०७४

चुनाव चिह्न प्रदान
निर्वाचन आयोगका अनुसार देशैभरिका उम्मेदवारहरूले बुधवारै आफ्नो चुनाव चिह्न पनि पाएका छन्।

दलगत उम्मेदवारहरूले दलको चुनाव चिह्न पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरूले अन्य चुनाव चिह्न पाएको आयोगले जनाएको छ।

 

नेपाल निर्वाचन

प्रत्यक्षतर्फ हुने निर्वाचनमा अब उम्मेदवारहरूले आफूले पाएको चिह्नमा चुनाव लड्नेछन्।

आयोगका अनुसार गत आइतवार सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि कुल २ हजार ५ सय २६ को उम्मेदवारी परेको थियो।

त्यस्तै सातवटा प्रदेश सभाका प्रत्यक्षतर्फका लागि ३ हजार ४ सय ७६ उम्मेदवारी परेको थियो।

त्यसरी सुरुमा दर्ता गरिएकामध्ये कतिपय उम्मेदवारको उम्मेदवारी उजुरीपछि खारेज भएको छ भने कतिपयले आफैँले उम्मेदवारी फिर्ता लिएका छन्।

आयोगले समानुपातिकको प्रतिनिधिसभाका कुल १ सय १० सदस्य र प्रदेशसभातर्फका कुल २ सय २० सदस्यका लागि दलहरूले बुझाएको बन्द सूची यसअघि नै सार्वजनिक गरिसकेको छ।

बिहीवारबाट मतपत्र छापिने
निर्वाचन आयोगका सहायक प्रवक्ता भुसालका अनुसार आयोगले बिहीवारदेखि मतपत्र छाप्न सुरु गर्नेछ।

बुधवार साँझ उहाँले भन्नुभयो ूनिर्वाचन कार्यालयहरूबाट उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गर्ने कार्य सम्पन्न भएको छ।ू

ूअब त्यसको विवरण अनुसार हामी भोलि (बिहीवार) देखि मतपत्र छाप्न थाल्छौँ।ू

ूजुनजुन जिल्लामा जुनजुन उम्मेदवारले जुनजुन चुनाव चिह्न पाउनु भएको छ, त्यसैका आधारमा हामी मतपत्र छपाइ सुरु गर्छौँ।ू

उम्मेदवारको सङ्ख्या, सहभागी दल र स्वतन्त्र उम्मेदवारको विवरण अनुसार विभिन्न क्षेत्रमा मतपत्रमा राखिने चिह्नको सङ्ख्या फरक हुने बताइएको छ।

 

Share Now

Leave a comment.