काठमाडौं, २७ असोज । नयाँ ब्रोकरका लागि बुधबारसम्म २१ वटा कम्पनी सिफारिस लिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेका छन् ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार बुधबार मात्रै ११ वटा कम्पनीले नयाँ ब्रोकरका लागि आवेदन दिन सिफारिस मागेका छन् । यसअघि १० वटा कम्पनी सिफारिसका लागि नेप्से पुगेका थिए ।
हिमालयन सेक्युरिटीज लिमिटेडले सिमित कार्य गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हिमालयनले सोमबार नै बोर्डमा आवेदन दिएको हो ।पराजुलीका अनुसार अहिलेसम्म सेयर प्रो, इन्डेक्स सेक्युरिटीज, पाही इन्भेष्टमेन्ट, प्रोपर्टी, केबिएल सेक्युरिटीज, प्रभु स्टक ब्रोकर, क्यापिटल म्याक्स सेक्युरिटीज, एनएमबि सेक्युरिटीज, भोलेनलेज सेक्युरिटीज, कलश र माछापुच्छ्रे सेक्युरिटीज लगायतका ब्रोकरको काम गर्ने अनुमतिका लागि नेप्सेमा सिफारिस मागेका छन् ।
पहिले नेप्सेले नै ब्रोकर लाइसेन्स दिने गरेकोमा यसै बर्षदेखि नेपाल धितोपत्र बोर्डले नेप्सेको सिफारिसमा बोर्डले यस्तो लाइसेन्स दिने व्यवस्था गरेको हो ।
नयाँ ब्रोकर खोल्नका लागि आवेदन दिन असोज ३१ गतेसम्मको समय सीमा राखिएको छ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि असोज २ गते ३० दिन भित्र आवेदन दिन भन्दै सूचना जारी गरेको छ । त्यसको अवधि ३१ गतेसम्म रहेको छ ।
उक्त अवधिसम्म आवेदन दिएका कम्पनीबाट योग्यलाई छनौट गरेर पूर्वाधार तयार गर्न अनुमित दिने र बोर्डले तोकेको मापदण्ड अनुसार पुर्वधार तयार पारेपछि ब्रोकर सेवा सञ्चालन गर्न बोर्डले अनुमति दिनेछ ।
निवेदकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन पेस गर्नुपर्ने छ ।
धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकाले ब्रोकर थप्न लागेको बोर्डले जनाएको छ ।
निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नुपर्नेछ ।
बोर्डका अनुसार सिमित कार्य गर्नका लागि न्यूनतम चुक्तापुँजी २० करोड, पूर्ण कार्य गर्नका लागि ६० करोड र धितोपत्र व्यापारीका लािग १ अर्ब ५० करोड चुक्तापूँजी आवश्यक पर्छ ।
बोर्डले असोज २ गते नै बस्तु विनियम बजार सञ्चालनका लागि र नयाँ स्टकका लागि पनि आवेदन माग गरेको छ । ४५ दिन भित्र आवेदन दिनुपर्ने छ । त्यसको समय कात्तिक १५ गतेसम्म रहेको छ । अहिलेसम्म कुनै पनि कम्पनीले वस्तु विनियम बजार र नयाँ स्टकका लागि आवेदन नदिएको बोर्डले जनाएको छ । बोर्ड एउटा निजी क्षेत्रको स्टकलाई र २ वटा वस्तु विनियम बजारलाई अनुमति दिने तयारी गरेको छ ।


















