काठमाडौं, २७ असोज । नेपाल विद्युत प्राधिकरणले यो बर्ष भारतमा विद्युत निर्यात गरेर नै झण्डै ८ अर्ब कमाएको छ ।
२०७८ चैत्र १९ गतेदेखि भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका अवसरमा नेपालको विद्युत किन्ने सम्बन्धमा समझदारी भएको थियो ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
त्यसयता असोज २५ गते मंगलबारसम्म नेपालले १ अर्ब ३० लाख युनिट विद्युत निर्यात गरिसकेको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा नेपाल विद्युत प्राधिकरणले ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी गर्न सकेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।
‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उहाँले भन्नुभयो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।
सुरुमा दुईवटा भारतीय सहयोगमा बनेका त्रिशुली र देविघाट जलविद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो ।
त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३ सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ ।
यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ ।


















