काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको प्रचारप्रसार गरेमा कारबाही गर्ने बताएको छ ।
कतिपय स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

स्थानीय तहको जनप्रतिनिधिमा राजनीतिक दलका नेता तथा कार्यकर्ता नै निर्वाचित भएका हुन् ।
उनीहरुलाई आफ्नो पार्टीका गतिविधिमा संलग्न हुन नदिने आयोगको निर्णयलाई निर्दल पोस्ने कसरतको रुपमा दलहरुले लिएका छन् ।यद्यपि आयोगले भने स्थानीय तहको स्रोत साधन कुनै पार्टी विशेषमा खर्च नहोस् भनेर यस्तो व्यवस्था गरेको जनाएको छ ।
यस अगाडि आयोगले सरकारी कर्मचारी र शिक्षकहरुलाई निर्वाचनमा कुनै उम्मेद्वारको प्रचारप्रसारमा लागेमा र फेसबुक,ट्वीटर लगायतका सामाजिक सञ्जाल माध्यममा निर्वाचनसंग संबन्धित सामग्री शेयर र लाईक गरेमा समेत कारबाही गर्ने चेतावनी दिएको थियो ।



















