काठमाडौं, २७ असोज । एमाले नेता भीम रावलले आज (१७ असोज बिहीबार) दिउँसो पत्रकार सम्मेलनमार्फत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले लिएको नीति र आफूलाई टिकट नदिएको विषयमा सार्वजनिक रुपमा बोल्ने हुनुभएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाए पनि रावल अहिलेसम्म मौन बस्दै आउनुभएको छ । उहाँले उचित समयमा पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभएको थियो ।
रावलले बुधबार प्रेस नोट जारी गर्दै आगामी ४ मंसिरमा हुने निर्वाचनमा अछाम जिल्ला कार्यसमिति, प्रदेश, जिल्ला, वडा, पालिका, निर्वाचन क्षेत्र सबैतिरबाट एकल नाम सिफारिस भए पनि केन्द्रले सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
रावलले बिहीबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना गर्दै हुनुहुन्छ। उहाँले आफ्नो आगामी राजनीतिक यात्राबारे पनि त्यहीँ खुलाउने बताउनुभएको छ ।
रावलले पछिल्लो समय पार्टीले वितरण गरेको टिकटबारे असन्तुष्टि जनाउँदै आउनुभएको थियो । उहाँले एमालेले कमल थापालाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिएको, जसपा सरकार र विपक्षी दुवै गठबन्धनमा रहेकोमा आपत्ति जनाउनुभएको छ ।
त्यस्तै, प्रभु साहका सम्बन्धमा एमाले नेतृत्वले लिएको नीतिको पनि उहाँले आलोचना गर्र्दै आउनुभएको छ ।


















