Prakash Adhikari October 13, 2022

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाउनुभएको हो ।

सत्तारुढ गठबन्धनमा रहेको जसपाले निर्वाचनको मुखमा प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उहाँहरुले सम्हाल्नुभएको मन्त्रालयको जिम्मेवारी आफैंले राख्नुभएको हो ।

प्रधानमन्त्री देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिनुभएको छ ।

राष्ट्रपति निवासका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका मन्त्रीहरुलाई पदमुक्त गर्नुभएको हो ।

 

Share Now

Leave a comment.