Prakash Adhikari October 17, 2022

विनिता दाहाल । बीबीसी न्यूज नेपाली

काठमाडौं, ३० असोज । नामसित थुप्रै विशेषण जोडिएर दशकौँसम्म सम्मानित रहेका संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको दीर्घ उमेरमा निधन भएको छ।

लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्‍याउनुभएका जोशीले स्वास्थ्य समस्याका कारण प्राण त्याग गर्नुभएको थियो।

खानामा अरुचि भएका कारण शिथिल बन्नुभएका जोशीलाई पछिल्लो समय डेंगी सङ्क्रमण भएपछि अस्पतालसमेत भर्ना गरिएको थियो।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले असोज ३० गते आइतवार बिहान उहाँको निधन भएको पुष्टि गरेको हो।

सानोमा बिफरदेखि, औलो, हैजा अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीसमेत देख्नुभएका जोशी खानपानमा ध्यान दिनु, सकारात्मक सोच राख्नु र धेरै महत्त्वाकाङ्क्षी नहुनुलाई आफ्नो दीर्घ जीवनको रहस्य मान्नुहुन्थ्यो।

आफ्नो १०० वर्षको जन्मोत्सव मनाउने बेला उहाँले सार्वजनिक कार्यक्रममा संस्कार र संस्कृतिले जीवनमा रस भरिदिने र त्यही क्षेत्रमा लामो समय काम गरेकाले दीर्घ जीवनको कारण त्यो पनि भएको हुनसक्ने बताउनुभएको थियो।

अनेक चिनारी
कुनै एक चिनारी मात्रैले जोशीलाई चिनाउन सम्भव छैन।

संस्कृतिदेखि साहित्य, साहित्यदेखि कला, कलादेखि सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उहाँले उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो।

त्यसैले त उहाँले अन्य कुनै नेपालीले नपाएका सम्मान र पदवी पाए। नाम र इज्जत कमाउनुभयो।

उहाँ त्यस्ता एक मात्रै नेपाली हुन् जो जीवित रहँदै आफ्नो तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको थियो।

१००, १००० र २५०० का सिक्काको एउटा पाटोमा जोशीको तस्बिर छ भने अर्कोमा सगरमाथाको तस्बिर छ।

Nepali money collection - Century-old man, Satya Mohan Joshi He is born on 1920 n he is a Nepali writer n scholar.he is famous for his research on the history n culture

८ दशकभन्दा लामो कालखण्डमा विभिन्न विषयको खोजीमै सक्रिय जोशीले जीवनका आखिरी वर्षमा पनि विश्राम नलिएको उहाँलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

१०२ वर्षको उमेर पुग्दा प्रकाशित उहाँको आत्मकथा विमोचन हुँदा उहाँँ आफैँ उपस्थित हुनुभयो र केही बेर मन्तव्य पनि दिनुभयो।

जोशीको सक्रिय जीवनको मूल मन्त्र नै आफूलाई जिज्ञासु राख्नु रहेको पत्रकार गिरीश गिरी बताउनुहुन्छ।

ूउहाँलाई केही न केही गरिरहनुपर्थ्यो। जीवनको अन्तिम अवस्थासम्म पनि उहाँ विषयप्रति जिज्ञासा रहिरहनु भएको देखिन्थ्यो,ू जोशीको आत्मकथा लेख्नुभएका पत्रकार गिरीले भन्नुभयो।

अन्तिम समयका इच्छा
१०० वर्ष उमेर नाघिसकेपछि पत्रकार र लेखकको एक टोलीलाई उनले अन्तिम इच्छा “आफ्नोबारे एउटा किताब लेखियोस्” भन्ने रहेको बताउनुभएको थियो।

त्यो इच्छा पूरा भयो।

तर त्यो किताब सार्वजनिक हुँदा नहुँदै उहाँले अर्को इच्छामा काम गर्न थालिहाल्नुभयो। त्यो थियो चक्र सम्भरको पौभा चित्र।

जोशीकै परिकल्पनामा र प्रसिद्ध पौभा चित्रकार लोक चित्रकारको नेतृत्वमा अहिले उक्त चित्र बनाउने काम अन्तिम चरणमा पुगेको छ।

जोशीको पुरानो घरमा बनेको “लोक साहित्य परिषद् को दोस्रो तल्लामा कलाकारहरू दिनरात खटिएर उक्त चित्र तयार पारिरहेका छन्।

२४ वर्षकै उमेरमा महामृत्युञ्जय पाठ
शताब्दी लामो जीवनकालमा बिरलै अस्पताल जानुभएका जोशी कोरोनाभाइरस महामारीको समयपछि भने बेलाबेला बिरामी पर्ने गर्नुभएको थियो ।

त्यो पनि बुढ्यौलीका कारण देखिने सामान्य स्वास्थ्य समस्या रहेको चिकित्सकहरूले बताउने गरेका थिए।

तर मृत्युशय्यामा भने ७८ वर्षअघि नै छटपटाउनुभएको थियो भन्ने प्रसङ्ग उहाँको पुस्तकमा उल्लेख छ।

२००१ सालमा स्नातक तह अध्ययन गरिरहँदा पहिलो जागिर अन्तर्गत सर्वेक्षणका लागि तनहुँमा जाँदा उहाँलाई औलो भएको थियो।

बाँच्ने अवस्था नदेखेपछि घरबेटीले उनलाई महामृत्युञ्जय पाठ गराउन सुझाएको उहाँले पुस्तकमा लेख्नुभएको छ।

ूआफूसँग भएको पैसा दिएर आफ्नै मृत्यु रोक्नका लागि चलिरहेको महामृत्युञ्जय पाठ मैले सुनिरहेको थिएँ,ू पुस्तकमा लेखिएको छ।

त्यो मृत्यु जितेर उठेपछि चैतको उराठ लाग्दो मौसममा तनहुँमा जुरेली चरी देखेर आफूले प्रेरणा पाएको उहाँले बताउनुभयो।

May be an image of one or more people and text that says '३.१० रु. नेपाल Century দව Person वि.सँ. पुरुष जन्म: शताब्दी DOB: May Dr. 12th Satya १९७७ डा. 1920 Mohan నెం वैशाख सत्यमोहन Joshi जोशी Rs. 10 2020 Nepal'

जुरेली चरीको जे जस्तो भए पनि आफ्नो कर्तव्य गर्न नछोड्ने र जे छ त्यसमै रमाउने बानीबाट आफू प्रभावित भएको उहाँले लेख्नुभएको छ।

जुरेली चरीलाई देखेर पाएको जीवनको त्यही चिन्तनसँगै उहाँ निरस लागेको तनहुँमा फेरि रमाउन थाल्नुभयो।

तनहुँ र लमजुङबाट ल्याएका लोकगीतको सङ्ग्रह ुहाम्रो लोक संस्कृतिु नामक पुस्तकबाट उहाँले २०१३ सालको मदन पुरस्कार पाउनुभयो।

त्यो नै पहिलो मदन पुरस्कार थियो। तनहुँ र लमजुङबाट लोक साहित्य र संस्कृतिमा टक बसाल्नुभएका जोशी निरन्तर यसकै सेरोफेरोमा रहँदा विभिन्न क्षेत्रमा हात हाल्नुभयो।

त्यति बेला भिर पाखामा गाउँलेले गाउने गरेका गीत केवल सङ्कलन मात्रै आफूले गरेको बताउने उहाँले सङ्ग्रह गर्ने आफ्नो बानीलाई बिस्तारै परिष्कृत गर्दै लैजानुभयो।

भाषा, संस्कृति, संस्कारका विषयमा जिज्ञासा राख्दै, खोजी गर्दै र सङ्ग्रह गर्दै जाने उहाँको बानीले नै उहाँलाई संस्कृतिविद् बनायो।

कमै महत्त्व दिइने विषयबारे उहाँमा सधैँ कौतुहलता रह्यो, उहाँले नसोचेका जिम्मेवारी पनि सरकारी स्तरबाटै पाउनुभयो।

जोशीलाई २०१५ सालमा पुरातत्त्व तथा संस्कृति विभागको निर्देशक बनाइएको थियो जुन उहाँका अनुसार उहाँ आफैँलाई पत्याउन गाह्रो थियो।

उहाँ त्यति बेला नन् गजेटेड डिट्ठा अर्थात् खरदार सरहको पदमा जागिर खाँदै हुनुहुन्थ्यो।

आफ्नै नाम गरेको कसलाई निर्देशकमा नियुक्त गरिएको रहेछ भनेर खोजी गर्दा आफैँ भन्ने थाहा पाएर आश्चर्यचकित परेको उहाँले बताउनुभएको छ।

त्यसरी अनपेक्षित रूपमा पाएको जागिरका बेला उहाँले विभिन्न क्षेत्रमा काम गर्नुभयो।

विभागमा रहँदा नै २०१६ सालबाट लुम्बिनी क्षेत्रको संरक्षणको काम सुरु भएको उहाँले दाबी गर्नुभएको छ।

ू२०१९ सालमा पुरातत्त्व विभागले लोरीकुदान र तिलौराकोट क्षेत्रमा प्रयोगात्मक हिसाबले पुरातात्त्विक उत्खनन कार्य सुरु गरेको थियो,ू पुस्तकमा उहाँले लेख्नुभएको छ।

उहाँ निर्देशक रहँदा नै भक्तपुरमा राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना पनि भएको थियो।

काठमाडौंको लाजिम्पाटस्थित धोवीचौरमा अलपत्र अवस्थामा रहेको विष्णु विक्रान्तको मूर्तिलाई उनकै शब्दमा ुअपहरणु गरेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो।

सत्यमोहन जोशी

२०२७ सालमा कर्णाली अध्ययन
जोशीले नेपालमा लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोजी गरे र त्यसैबारे लेखिएको ूनेपाल राष्ट्रिय मुद्राू नामक पुस्तकका लागि उहाँले दोस्रो पटक २०१७ सालमा मदन पुरस्कार पाउनुभयो।

त्यसपछि उहाँले संयुक्त रूपमा पाएको तेस्रो मदन पुरस्कार भनेको ुकर्णाली लोक संस्कृतिु पुस्तकका लागि थियो।

यसरी अहिलेसम्म तीन पटक मदन पुरस्कार पाउने उहाँ एक मात्रै व्यक्ति हुन्।

कर्णालीलाई अहिले पनि सहज पहुँच नभएको क्षेत्र मानिन्छ।

५२ वर्षअघि कर्णालीमा खस सभ्यताको अन्वेषण गर्न सत्यमोहन जोशीको नेतृत्वमा एउटा टोली पुगेको थियो।

जुम्लाको सिन्जा पुगेर अध्ययन अनुसन्धान गर्ने भन्ने कल्पना पनि गर्न नसकिने बेला मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ, भूगोलविद् स्थिरजङ्गबहादुर सिंह, भाषाशास्त्री चूडामणि बन्धु, र संस्कृतिविद् प्रदीप रिमालसहित जोशीको टोलीले गरेको अध्ययनका आधारमा नै ुकर्णाली लोक संस्कृतिु नामक पुस्तक तयार भएको हो।

कर्णाली क्षेत्रमा योजना बनाउनका लागि त्यति बेला गरिएको अध्ययनलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

त्यसअघि कर्णालीका विविध पक्षमा त्यो स्तरको अध्ययन नै नभएको बताइन्छ।

कलाकार अरनिकोबारे नेपालमा कमै जानकारी थियो।

चाइनिज बुद्धिस्ट एशोसियसनको निम्तोमा बेइजिङ पुग्दा नेपाली कलाकार अरनिकोले बनाएको ह्वाइट ड्यागोवा (सेतो चैत्याकार स्तूप) देख्दा आफू चकित परेको उहाँले बताउने गर्नुहुन्थ्यो।

अरनिकोबारे आफू २०२२ सालमा चीनमा नेपाली भाषा पढाउन अर्को पटक गएका बेला गरेको अध्ययन अनुसन्धानमा आधारित भएर उहँले ुकलाकार अरनिकोु पुस्तक समेत लेख्नुभयो।

चीन नै गएका बेला जोशी कमै नेपाली पुग्ने उत्तर कोरियामा पनि पुग्नुभयो।

विदेश भ्रमणमध्ये उहाँको निकै रोचक प्रसङ्ग भने न्यूजिल्याण्ड जाँदाको छ। उक्त देश पुग्ने पहिलो नेपाली नै जोशी हुनुहुन्थ्यो।

न्यूजिल्याण्डका एडमण्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाका शिखर चुमेको केही दिन मात्रै हुँदा जोशी त्यहाँ पुगेका थिए।

त्यहाँ तेन्जिङको गाउँका भनेर आफूलाई निकै सत्कार गरिएको र महत्त्वपूर्ण पत्रिकाहरूको अग्रपृष्ठमा आफ्नो अन्तर्वार्ता छापेको जोशीको किताबमा उल्लेख छ।

लामो समय लयबद्ध जीवनको पर्याय बन्नुभएको जोशी आफ्ना थुप्रै साथीसंगातीको निधनको साक्षी बन्नुभयो।

मृत्युलाई सत्य मानेर यससँग डराउन नहुने बताउने जोशीले जीवनको आखिरी समयसम्म पनि आफूलाई सक्रिय राखिरहनुभएको थियो।

परम्पराविपरित शरीर दान गर्ने निर्णय अनुसार उहाँको शरीर अस्पताललाई बुझाइएको छ।

धेरैले हात नहालेका थुप्रै विषयमा जोशीले हात हाल्नुभयो र थुप्रै सम्मान पाउनुभयो।

उहाँको पुरानो घरमा निर्मित लोक साहित्य परिषद्को भवनमा उहाँले पाउनुभएका अनगिन्ती सम्मानहरू सजाएर राखिएका छन्।

त्यहाँ उहाँले सङ्कलन गरेका हुलाक टिकट र सिक्का र पुस्तकहरू पनि सजाएर राखिएका छन्।

जोशीभन्दा पहिला राजपरिवारबाहेक कुनै पनि व्यक्तिको जीवित हुँदै हुलाक टिकटमा तस्बिर छापिएको थिएन।

२०७७ सालमा सत्यमोहन जोशीको तस्बिर रहेको हुलाक टिकट भने राष्ट्रपतिबाट जारी भएको थियो।

Culture expert of Nepal Satya Mohan Joshi turns 100 today - South Asia Time

यो वर्ष संविधान दिवसका दिन जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरिएको छ।

यसअघि पनि उहाँलाई सुप्रबल गोरखा दक्षिणबाहु, उज्जवल कीर्तिमान राष्ट्रदीप, अनि २०६९ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कारलगायत सम्मान दिइएका छन्।

लेखक खगेन्द्र सङ्ग्रौला इतिहास र संस्कृतिका अनुसन्धानकर्ता जोशीको विशेषता विषयगत सूक्ष्मता र गहनताभन्दा पनि साधनाको अथक निरन्तरता मान्नुहुन्छ।

“दीर्घ जीवनमा सबै प्रकृतिका सत्ता र सरकारहरूको निकट हुनु, तिनबाट पुरस्कृत र प्रशंसित हुनु जोशीको बिछट्टको अनुकूलन कौशलको द्योतक पनि हो”, सङ्ग्रौलाले भन्नुभयो, “जोशी आफ्नो आत्मकथामा निरङ्कुश राजतन्त्रको अवसानप्रति विषाद प्रकट गर्नुभएको छ र केही समयपछि नयाँ गणतान्त्रिक व्यवस्थाको राष्ट्रिय गान चयन समितिका संयोजक बन्नुभएको छ।”

जुरेली दर्शन
युवावयमै मृत्यु जितेका जोशी आफ्नो जीवनमा जुरेली चरीको विशेष प्रभाव रहेको बताउनुहुन्थ्यो।

उहाँले लेख्नुभएको छ, “मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ। त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार। चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने।”

हुन पनि चाहे उहाँको अन्तिम इच्छा भनिएका आत्मकथा होऊन् वा चक्रसम्भरको पौभा चित्र, चिन्ता नगर्ने र चिन्तन गर्ने उहाँको जुरेली दर्शन १०३ वर्षमा प्राण त्याग्दा पनि जारी राखेको उहाँलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

Share Now

Leave a comment.