Prakash Adhikari October 19, 2022

चैनपुर(बझाड.), २ कार्तिक । बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।

बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप जिप दुर्घटनामा परेको हो।

यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो।

उहाँका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते १६ जनामध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगढी रिफर गरिएको छ।

घाइते हुनेमा मष्टा गाउँपालिका–२ का आठ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, चार वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका–१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो।कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ। जिप सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको पनि प्रहरीले जनाएको छ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Share Now

Leave a comment.