सानेपा(ललितपुर), १४ कार्तिक । नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९,केन्द्रीय प्रचार प्रसार समितिको बैठकलाई सम्बोधन गर्नुभएको छ ।
उहाँले लोकतन्त्र बचाउनका लागि अन्यदलहरुसंग गठबन्धन गर्दा नेपाली कांग्रेसका योग्य साथीहरु टिकटका अवसरबाट छुट्नुभएको उल्लेख गर्दै निर्वाचन जितेपछि राज्य सञ्चालनमा उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारी पाउने पनि बताउनुभयो । उहाँले नेपाली कांग्रेसका सबै कार्यकर्ता र शुभेच्छुकहरुलाई नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन र नेपाली कांग्रेसको उम्मेद्वार नभएको स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध पनि गर्नुभयो ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको उम्मेदवारी नभएको स्थानमा पनि निर्वाचन अभियानलाई उत्तिकै महत्व दिएर समानुपातिकतर्फ अत्यधिक मत खस्ने बातावरण सिर्जना गर्न पनि अनुरोध गर्नुभयो । समानुपातिकतर्फको मतले पनि संसदमा नेपाली कांग्रेसको दरिलो उपस्थितिलाई बल पुग्ने उल्लेख गर्दै उहाँले केन्द्रीय प्रचार प्रसार समितिका सदस्यहरुलाई कांग्रेस समर्थक सबै मतदातालाई मत दिन उत्प्ररित गर्ने ढंगले गरी निर्वाचन प्रचार प्रसार अभियान सञ्चालन गर्न पनि निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाले आइतबार साँझ पनि नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रवास समन्वय तथा प्रचार प्रसार उपसमितिको जुम बैठकलाई सम्बोधन गर्नुभएको थियो


















