बुटवल(रुपन्देही), १६ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनावपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने बताउनुभएको छ।
रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता एवम् प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. सो कुरा बताउनुभएको हो ।
उहाँले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।
प्रवक्ता डा. महतले कांग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गर्नुभयो
‘गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको प्रधानमन्त्री शेरबहादुर नै बन्नुहुनेछ,’ प्रवक्ता डा. महतले भन्नुभयो , ‘कांग्रेसभित्र पनि उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’
नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने पनि दाबी गर्नुभयो।
सत्तापक्षीय गठबन्धनमा धेरै दल र धेरै जनमत मात्र नभएर लोकतन्त्र एवं संविधान संरक्षण योजना भएकाले जित सुनिश्चित रहेको उहाँले बताउनुभयो ।


















