अमरगढी(डडेल्धुरा), १७ कार्तिक। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कूटनीतिक पहलबाटै फिर्ता गराउने बताउनुभएको छ।
बिहीबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो कुरा बताउनुभएको हो।
चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापानी र लिपुलेक क्षेत्रलाई लडेर नभई कूटनीतिक पहल गरेर फिर्ता लिन सकिने बताउनुभयो।
नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए। ‘नेपाल छिमेकी देश भारत र चीनसँग समान सम्बन्ध राख्दछ र राख्दै आएको पनि छ,’ उहाँले भन्नुभयो ,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कूटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस्।’
चुनावी सभालाई सम्बोधन गर्दै देउवाले डडेल्धुराको विकासका लागि आफूले धेरै काम गरेको पनि बताउनुभयो।
डडेल्धुराको सबै गाउँ बस्तीमा सडक र बिजुली पनि पुर्याउने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अब निर्वाचन पछि डडेल्धुराको बजार क्षेत्रको सडक चौडा कार्यका लागि मुआब्जाको काम पनि गरिने बताउनुभयो।
परशुराम, परिगाउँ, महाकाली नदीमा पुलको पहल भएको पनि उहाँले बताउनुभयो। रेंगुन खोलामा तटबन्धन तथा सिँचाइको योजना पनि अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।
प्रधानमन्त्री देउवा चुनावी कार्यक्रमका लागि बुधबार राजधानी काठमाडौँबाट धनगढी आएर बिहीबार मात्रै आफ्नो गृह जिल्ला डडेल्धुरा पुग्नुभएको हो।





















