काठमाडौ, २४ कार्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको श्रद्धेय नेता बन्न सफल हुनुभयो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभयो।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।
काठमाडौँको खानदानी परिवारमा जन्मिनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो ।
विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो।
जेलबाट भागेर भारतमा पुग्नुभएका नेता गणेशमान अर्का नेता बी.पी. कोइरालासँगको सम्पर्कमा पुग्नुभयो र राजनीतिक सम्बन्ध विकसित गर्नुभयो ।
२००३ सालमा आफूसमेत संलग्न भएर स्थापना गरिएको नेपाली राष्ट्रिय कांग्रेसलाई अगाडि बढाउन उहाँको उल्लेख्य भूमिका रह्यो ।
२००६ सालमा नेपाली राष्ट्रिय काग्रेस र नेपाली प्रजातन्त्र कांग्रेस एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा रहेर उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनलाई हाँकिरहनु भयो ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा सिहले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्षको नेतृत्व गर्नुभएको थियो ।
देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो। नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उहाँ सदा क्रियाशील रहनुभयो ।
२००८ सालमा कृषि, भूमि तथा खाद्यमन्त्री हुनुुभएका सिंह २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँको सांसद् पदमा विजयी हुनुभयो र बी.पी. कोइरालाको नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्नुभयो ।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि निरन्तर आठ वर्ष पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभएका गणेशमान २०२५ सालमा बी.पीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा हुनुभयो र प्रवासमा राजनीतिक सङ्गठन सक्रिय रहनुभयो ।
उहाँ विसं २०३३ मा बी.पी.सँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभयो ।
नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी उहाँलाई सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । सो बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बी.पी. सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो ।
तत्कालीन पञ्चायती सरकारले बी.पी.सँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभएका नेता सिंहले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गनुभयो ।
बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा परिचित सिंहले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।
नेपाली कांग्रेसको नेतृत्वमा थालिएको जनआन्दोलनमा बाममोर्चालाई साथ लिएर पञ्चायतविरुद्ध गरिएको आन्दोलन सफल भएपछि नै नेपालमा लोकतन्त्र पुनस्थापना भएको हो ।
त्यसैको जगमा आज संघीय गणतान्त्रिक नेपाल विश्वमा एक लोकतान्त्रिक मुलुकको परिचित हुन पाएको छ ।


















