रेक्याभिक(आइसल्याण्ड), २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।
विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ९डब्लुपिएल० को आइसल्याण्डमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गर्नुभएको थियो।
राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो।
त्यहाँ उहाँले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुभयो।
१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको थियो।
राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ।


















