सानेपा(ललितपुर), २५ कार्तिक ।सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनको संयुक्त परिचालन र प्रचार अभियानमा देखिएका समस्या समाधान गर्ने निर्णय गरेको छ ।
बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताहरूको संयुक्त बैठकले निर्वाचन परिचालनमा देखिएको समस्या अबिलम्ब समाधान गर्ने निर्णय पनि गरेको हो ।
बैठकपछि नेपाली काँग्रेसका नेता तथा काँग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनको मिसन सफल बनाउनु सबै पार्टीको दायित्व भएको बताउनुभयो । उहाँल स्थानीयदेखि केन्द्रीय स्तरसम्मका पार्टी सदस्यहरूलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमति भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘गठबन्धनमा स्थानीय स्तरमा उत्पन्न असमझदारीलाई सुल्झाउदै सहकार्यको भावना लिएर दलीय सहमतिमा उठेका साझा उम्मेदवारलाई जिताउने कुरा भयो । सबै पार्टीले आफ्ना संगठनका टोल, वडादेखि राष्ट्रिय स्तरसम्मका साथीहरूलाई क्रियाशील गराई फेरी पनि गठबन्धनकै सरकार बनाउने अभियानलाई साकार बनाउने विषयमा सहमति बन्यो ।’
उहाँले निर्वाचन क्षेत्रमा देखिएका समस्याहरुको समाधान र निर्वाचनमा गठबन्धनको पक्षमा अधिकतम् मत हाल्ने वातावरण बनाउन मतदातालाई सक्रिय बनाउने विषयमा छलफल भएको बताउनुभयो ।बैठकमा नेपाली काँग्रेसको तर्फबाट नेताहरू अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो भने नेकपा (माओवादी केन्द्र) बाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटाको सहभागिता थियो । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।


















