काठमाडौँ, १५ मंसिर । नेपाल वायुसेवा निगमले कतार र मलेसियाबाट फर्किने जहाजलाई भैरहवा रोकेर काठमाडौं अवतरण गराउने भएको छ ।
भारतले दिल्लीबाट फर्कने निगमको उडानलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किने अनुमति नदिएपछि निगमले मलेशिया र कतारबाट फर्कने जहाजलाई भैरहवा बिसौनी गरेर काठमाडौं ल्याउने भएको हो।
नेपाल नागरिक उड्ययन प्राधिकरणले भैरहवाको नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक सञ्चालनका लागि नेपालमा दर्ताभएका बायुयान कम्पनीलाई भैरहवाबाट अनिवार्य उडान राख्ने बाध्यकारी व्यवस्था गरेको छ ।
निगमको वाणिज्य विभागले सोमबार मलेसियाको राजधानी क्वालालमपुर र कतारको राजधानी दोहाबाट फर्किने नेपाल वायुसेवा निगमको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्किने तालिका बुझाएको थियो । उक्त तालिकालाई प्राधिकरणले बुधबार स्वीकृति दिएको छ ।
निगमले अनुमति पाएको नयाँ अन्तर्राष्ट्रिय तर्फको तालिकाअनुसार, पुस ४ गतेदेखि भैरहवामा पनि व्यावसायिक उडान सुरु हुनेछ । जसअन्तर्गत काठमाडौं–दोहा–भैरहवा–काठमाडौं सातामा दुईपटक आइतबार र मंगलबार तथा काठमाडौं–क्वालालमपुर–भैरहवा–काठमाडौं सातामा एक दिन शुक्रबार हुने भनिएको छ ।
यत निगमले भने भैरहवाका लागि यात्रुको संख्या वृद्धि भए त्यहाँबाटै सिधा प्वान्ट–टू–प्वान्ट उडान पनि गर्ने तयारी पनि गरिरहेको छ ।
प्राधिकरणले दोहा र क्वालालमपुरबाट भैरहवा उडान गर्न निगमका न्यारो र वाइडबडी दुवै विमानलाई अनुमति दिएको छ ।
हिमालयन एअरलाइन्सले भने भैरहवाबाट क्वाललम्पुर उडान गरिसकेको छ ।


















