Prakash Adhikari December 2, 2022

काठमाडौं, १६ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रमा मत गणना भैरहेको छ र तीनै वटा क्षेत्रको परिणाम गठबन्धनको पक्षमा जाने प्रवृत्ति देखा परेको छ ।

हालसम्मको मतगणनाको परिणामबाटै वर्तमान गठबन्धन सरकार बनाउन सहज स्थितिमा पुग्ने देखिएको छ । हालको गठबन्धनमा राष्ट्रिय पार्टीको रुपमा उदाएको डा.सी.के राउत नेतृत्वको जनमत पार्टी थपिदा गठबन्धन सहज बहुमतमा पुग्ने देखिएको हो ।

यस्तो छ अंकगणित
अहिलेसम्म नेपाली काग्रेसले प्रत्यक्षमा ५५ सीट जितेको छ र मत गणना भैरहेका स्याड.जा २ र बाजुरामा उसले जित्ने लक्षण देखिएको छ । यसरी कांग्रेसको पक्षमा ५७ सीट हुने देखिएको छ । समानुपातिकमा कांग्रेसले ३२ सीट पाउने देखिएको छ । कांग्रेसको प्रतिनिधि सभामा ८९ सीट हुनेछ ।

यता माओवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १७ सीट जितिसकेको छ र दोलखामा अग्रता लिइरहेको छ । अन्तिम मत परिणाम पनि माओवादीको पक्षमा गएमा उसको १८ सीट हुनेछ । भएन भने पनि उसको खातामा समानुपातिकको १४ सीट जोडिन्छ । दोलखा जितेमा माओवादीको ३२ र हारेमा ३१ सीट हुनेछ ।

यता नेकपा एसले प्रत्यक्षमा १० सीट जितेको छ । गठबन्धनमा रहेको लोकतान्त्रिक समाजवादीले ४ सीट जितेको छ । राष्ट्रिय जनमोर्चाले १ सीट जितेको छ । डा.सि.के.राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा १ सीट जितेको छ भने समानुपातिकमा राष्ट्रिय पार्टी बन्ने थ्रेसहोल्ड कटाएकोले उसले कम्तिमा ४ सीट पाउने अनुमान छ । यसो गर्दा उसको पक्षमा ५ सीट हुने छ ।

यसरी गठबन्धनको पक्षमा दोलखा जितेमा प्रतिनिधि सभामा १ सय ४१ र नजितेमा १ सय ४० सांसद पुग्ने देखिन्छ । यो संख्या प्रतिनिधि सभाको कूल २ सय ७५ को आधा अर्थात १ सय ३८ भन्दा बढी हुन आउछ ।

यसरी फेरि पनि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने निश्चित भएको छ ।

सरकार गठनको गृहकार्य सुरु

डा. सी.के.राउतको जनमत पार्टी गठबन्धनमा थपिदा सहज रुपमा सरकार बन्ने स्थिति देखिएकोले नेपाली कांग्रेसले सरकार गठनको पहल थालेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार नै जनमत पार्टीका अध्यक्ष डा.सी.के. राउतसंग भेट गरिसक्नुभएको छ ।

भेटवार्ता अत्यन्त सकारात्मक रहेको र जनमत पार्टी सरकारमा जान तयार रहेको समाचार सार्वजनिक भएको छ । डा.राउतले आज नेपाल खबरलाई दिएको अन्तरवार्तामा आफ्नो पार्टी सरकारमा जाने र कृषि तथा उद्योगको क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभएको छ ।

यस्तै सरकार गठनकै सिलसिलामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाको निर्देशनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।

Share Now

Leave a comment.