काठमाडौं, १७ मंसिर । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि सबै विकल्पहरु खुला राख्ने निर्णय गरेकोे छ।
शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि विभिन्न विकल्पमा जान सकिने निष्कर्ष निकालेको हो।
निर्वाचनको समीक्षाका साथै सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो।
‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकेनौँ भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ महराले भन्नुभयो, ‘बनाएको गठबन्धन छोडने निर्णय गरिएको छैन। र, अन्य विकल्प पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन।’
महासचिव देव गुरुङले सोमबार पनि पदाधिकारी बैठक बोलाइएको बताउनुभयो ।
माओवादीले सरकार गठनका सबै विकल्प खुला राख्ने भने पनि उसंग विकल्प सीमित छ । एमालेका अध्यक्षमा के.पी.शर्मा ओली रहिञ्जेल प्रचण्डको नेतृत्वमा रहेको नेकपासंग एकता वा सहकार्य असंभव जस्तै देखिएको छ ।
नेतृत्व छोड्न न त एमाले अध्यक्ष ओली तयार हुनुुुहुन्छ न माओवादी अध्यक्ष प्रचण्ड ।
एमालेको वडा र टोलसम्म फैलिएको संगठनमा सीमित नेताहरुलाई टाकोरी लगाएको भरमा बनेको नेकपा माओवादी केन्द्रलाई रजाईँ गर्न ओलीलले नदिने घाम जत्तिकै छर्लड.ग छ ।
प्रचण्डको नेतृत्वमा अन्य साना दल र स्वतन्त्र जोडेर प्रतिनिधि सभामा बहुमत पुग्न सक्दैन ।
कांग्रेसलाई घुक्र्याएर प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिमा बार्गेनिड. गर्न खोजेको भए पनि निर्वाचनमा समानुपातिकमा पाएको मतले माओवादीको औकात देखाएको छ ।
माओवादीले बढी नै निहुँ खोज्यो र कांग्रेर एमाले मिलिदिए भने माओवादी जिल्लाराम पर्ने देखिन्छ ।


















