Prakash Adhikari December 5, 2022

दोहा(कतार), १९ मंसिर । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको हो।

फ्रान्सको जितमा ओलिभर जिरुड एक गोल गर्दा केलियल एमबाप्पेले दुई गोल गरे।

जिरुडले खेलको ४४ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। उनलाई गोल गर्न एमबाप्पेले पास उपलब्ध गराए।

यो गोलसँगै जिरुडले फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाए। उनले फ्रान्सको जर्सीमा १ सय १६ खेल खेल्दै ५२ गोल गरिसकेका छन्।

यसअघि यो कीर्तिमान थियरी हेनरीको नाममा थियो। थियरीले १ सय २३ खेलमा ५१ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

खेलको ७४ मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो। यसपटक एमबाप्पेले गोल गर्न सफल भए। उनले डेम्बेलेको पासमा गोल गरेका थिए।

एमबाप्पेले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए।

यससँगै जारी विश्वकपमा उनले आफ्नो गोल संख्या ५ पुर्‍याएका छन्। यस विश्वकपमा उनले दुई एसिस्ट समेत गरेका छन्।

यो विश्वकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका एमबाप्पेको विश्वकपमा गोल संख्या ९ पुगेको छ। अघिल्लो विश्वकपमा उनले ४ गोल गरेका थिए।

२३ वर्षको उमेरमा विश्वकपमा ९ गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन्।

पोल्यान्डले इन्जुरी टाइमको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्‍यो। उसका लागि लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे।

पोल्यान्डमाथि जित निकालेर अन्तिम आठमा पुगेको फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड वा सेनेगल मध्ये एक टिमसँग खेल्नेछ।

Share Now

Leave a comment.