नयाँदिल्ली(भारत), २२ मंसिर । भारतका गुजरात र हिमाचल प्रदेश भएको विधानसभाको चुनावको परिणाम आइरहेको छ।
बिहीबार आइरहेको परिणामअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतीय जनता पार्टीले कीर्तिमानी बहुमत ल्याउने देखिएको छ।
गुजारत विधानसभाका १ सय ८२ सिटमध्ये जारी मतगणना अनुसार भाजपाले १ सय ५६ सिटमा अग्रता बनाएको छ।
यहाँ भारतीय कांग्रेसले १७ सिटमा अग्रता बनाएको छ। अर्कातिर आम आद्मी पार्टीले ५ स्थानमा जित निकाल्ने देखिएको छ।
भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा १ सय २७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ।
भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (कांग्रेस–आई) सरकारले विधानसभामा हासिल गरेको १ सय ४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने पक्का भएको छ।
यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा राज्यमा सातौँ पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो।
गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो। गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको थियो।
गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो। गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो।
गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ। नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका थिए।
सन् २०१७ को विधानसभा चुनावमा काङ्ग्रेसले सत्तारुढ भाजपालाई कडा टक्कर दिएको थियो।
हिमाचलमा कांग्रेस
उता हिमाचलमा भने भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)ले सरकार बनाउने भएको छ।
हिमाचल प्रदेशका ६८ सिटम भएको चुनावमा भने कांग्रेसले बहुमत ल्याउने देखिएको छ। त्यहाँ अहिले कांग्रेसले ३९ सिटमा अग्रता लिएको छ।
त्यहाँ भाजपाले अहिले २६ स्थानमा अग्रता लिएर प्रतिपक्षमा जाने देखिएको छ। राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो।
हिमाचल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ। हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन्।
भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेका बेला कांग्रेसले उसलाई धक्का दिएको हो।


















