Prakash Adhikari December 10, 2022

दोहा(कतार), २४ मंसिर । नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी, लिएनड्रो परेडेस, गोन्जालो मोनिटेल र लाउटारो मार्टिनेजले गोल गरे । एन्जो फर्नान्डेसको प्रहार भने पोष्ट बाहिर गएको थियो ।

नेदरल्याण्ड्सका लागि टिउन कुपमाइनर्स, वाउट वेघोस्ट लुक डे जोङले गोल गरे ।

नेदरल्याण्ड्का तर्फबाट कप्तान भर्जिल भान डाइक र स्टेभेन बर्गुइसको प्रहार अर्जेन्टिनी गोल रक्षक नायक बनेका एमिलियानो मार्टिनेजले बचाए ।

मेसीको गोल र असिस्ट

खेलको ३५औं मिनेटमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । कप्तान लिओनल मेसीले उपलब्ध गराएको उत्कृष्ट पासमा मोलिनाले गोल गरेका हुन् । गत वर्ष राष्ट्रिय टिममा डेब्यु गरेका मोलिनाको अर्जेन्टिनाको लागि यो पहिलो गोल हो ।

यस्तै मेसीले विश्वकपको नकआउट चरणमा पाँच असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्नेमा पेलेलाई पछि पारे ।

पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि गोल थप्यो । यस पटक मेसीले पेनाल्टीमा गोल गरे ।

नेदरल्याण्ड्सका डेन्जल डमफ्राइझले मार्कोस अकुनालाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा मेसीले ६३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

जारी विश्वकपमा मेसीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा फ्रान्सका किलिएन एमबाप्पे भन्दा एक गोलले पछि छन् । एमबाप्पेले ४ खेलमा ५ गोल गरिसकेका छन् ।

वेघोस्टको दुई गोल

दुई गोलले पछि परेको नेदरल्याण्ड्सलाई एकै खेलाडीले बराबरीमा ल्याए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको वाउट वेघोस्टले ८३औं मिनेटमा गोल गर्दै डच टोलीलाई खेलमा फर्काएका थिए ।

९० मिनेटको खेलपछि १० मिनेटको इन्जुरी टाइम थप गरिएको थियो । जसको अन्तिम मिनेटमा नेदरल्याण्ड्सले बक्स बाहिर फ्रि किक पायो । त्यसमा टम कुपमाइनरसको उत्कृष्ट पासमा वेघोस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

 

निर्धारित समयमको खेल २ -२ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । तर त्यसमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । थप गरिएको समयमको अन्तिम मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार पोष्टमा लागेको थियो ।

अर्जेन्टिनाले अब पहिलो सेमिफाइनलमा आगामी मंगलबार क्रोएसियासँग खेल्नेछ ।

क्रोएसियाले पहिलो क्वाटरफाइनलमा उपाधि दाबेदार ब्राजिललाई पेनाल्टी शूटआउटमा ४२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
जारी विश्वकपमा बाँकी टिममध्ये अर्जेन्टिना दक्षिण अमेरिकाको एक्लो टिम हो ।

मेसीको कीर्तिमान

यस खेलमा अर्जेन्टिनाका कप्तान मेसीले विश्वकपकमा सर्वाधिक १० गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान बराबरी गरे । यसअघि अर्जेन्टिनाका लागि गाब्रिएल बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका थिए ।

यस्तै मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा संयुक्त रुपमा दोस्रो स्थानमा उक्लेका छन् । जर्मनीका मिरोस्ला क्लोजसमान मेसीले विश्वकपमा २४ खेल खेले ।

मेसीले अब सेमिफाइनल खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने जर्मनीकै लोथर म्याथ्वुजको कीर्तिमान बराबरी गर्ने पक्का छ ।

फाइनल पुगेमा मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

Share Now

Leave a comment.