Prakash Adhikari December 11, 2022

जेम्स ग्यालहर /स्वास्थ्य तथा विज्ञान संवाददाता

लण्डन(संयुक्त अधिराज्य), २५ मंसिर(बीबीसी) । एउटा नयाँ प्रकारको उपचारको पहिलो परीक्षणपछि एकजना किशोरीको निको नहुने रक्त क्यान्सर शरीरबाट हटेको छ।

अलिसा नामक ती किशोरीको उपचारका क्रममा ल्युकेमियाका अन्य सबै उपचारहरू असफल भएका थिए।

त्यसपछि ग्रेट ओर्मन्ड स्ट्रीट अस्पतालका चिकित्सकहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट “बेस एडिटिङ” भन्ने विधिको प्रयोग गरेर उनका लागि नयाँ औषधि बनाए।

त्यसको प्रयोग गरेको ६ महिनापछि उनको शरीरमा क्यान्सर पाइएको छैन।

तर अझै पनि उनमा क्यान्सर फर्कन्छ कि भनेर चिकित्सकहरूले निगरानी गरिरहेका छन्।

लेस्टरकी १३ वर्षीया अलिसालाई गत वर्ष मेमा टी-सेल एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएको पत्ता लागेको थियो।

टी-सेलहरू शरीरको रक्षक मानिन्छन्।

टी-सेलहरूले मानव शरीरमा हानी गर्न खोज्ने कुरालाई पत्ता लगाउने र नष्ट गर्ने गर्छन्।

तर अलिसाका लागि त्यस्ता सेलहरू खतरा बनेका थिए र नियन्त्रण नै नहुने गरी वृद्धि भइरहेका थिए।

उनको क्यान्सर घातक खालको थियो।

अलिसा

तस्बिर स्रोत,FAMILY PHOTO

किमोथेरापी र त्यसपछि गरिएको बोनम्यारो प्रत्यारोपणले पनि उनको शरीरबाट क्यान्सर हट्न सकेन।

परीक्षण गर्नुपर्ने औषधिबाहेक अलिसालाई सकेसम्म सहज बनाउने एउटा मात्र विकल्प बाँकी थियो।

“अन्ततः म मर्ने थिएँ,” अलिसाले भनिन्।

उनकी आमा किओनाले गत वर्षको क्रिसमस नै “उनीसँगको हाम्रो अन्तिम हो भन्ने सोच्दै” मनाएको बताइन्।

त्यसपछि ज्यानुअरीमा आफ्नी छोरीको १३ औँ जन्मदिनमा उनी रोइन्।

त्यसपछि जे भयो त्यो केही वर्ष अघिसम्म अकल्पनीय थियो र त्यो आनुवंशिक  क्षेत्रको अविश्वसनीय प्रगतिद्वारा सम्भव हुन पुग्यो।

ग्रेट ओर्मन्ड स्ट्रीटको टोलीले ‘बेस एडिटिङ’ भन्ने प्रविधिको प्रयोग गर्‍यो।

त्यो ६ वर्षअघि मात्र आविष्कार भएको थियो।

बेस अर्थात् आधारहरूलाई जीवनका आधारभूत तत्व मान्ने गरिन्छ।

चार प्रकारका बेसहरू एडिनिन (ए), साइटोसिन (सी), गुआनिन (जी) र थाइमाइन (टी)  हाम्रो आनुवंशिक कोडको निर्माण गर्ने ब्लकहरू हुन्।

जसरी वर्णमालाका अक्षरहरूले अर्थ बोक्ने शब्दहरूको हिज्जे बनाउँछन् त्यसैगरी हाम्रो डीएनएमा रहेका अरबौँ बेसहरूले हाम्रो शरीरका लागि निर्देशन पुस्तिकाको हिज्जे निर्धारण गर्छन्।

बेस एडिटिङले वैज्ञानिकहरूलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गर्न साथै त्यसलाई अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ।

अलिसा

तस्बिर स्रोत,GREAT ORMOND STREET HOSPITAL

चिकित्सक र वैज्ञानिकहरूको एउटा ठूलो टोलीले यो उपकरणलाई नयाँ प्रकारको टी-सेल बनाउन प्रयोग गर्‍यो।

त्यो अलिसाको क्यान्सरग्रस्त टी-सेललाई सिकार गर्न र मार्न सक्षम थियो।

उनीहरूले त्यसको सुरुवात दाताले दिएका स्वस्थ टी-सेलबाट गरे र तिनीहरूलाई परिमार्जन गर्ने आधार तयार पारे।

पहिलो बेस एडिटिङले टी-सेलहरूलाई लक्षित गर्ने संयन्त्रलाई असक्षम बनाइदियो। त्यसले गर्दा तिनीहरूले अलिसाको शरीरमा आक्रमण गर्न सकेनन्।

दोस्रोले बेस एडिटिङले सीडीसेभेन भनिने रासायनिक चिह्नलाई हटाइदियो त्यो सबै टी-सेलहरूमा हुन्छ।

त्यसपछि तेस्रो बेस एडिटिङले सेलहरूलाई किमोथेरापी औषधिद्वारा मारिनबाट बचाएको थियो।

आनुवंशिक परिमार्जनको अन्तिम चरणले टी-सेलहरूलाई सीडीसेभेन चिह्न लगाइएको कुनै पनि कुराको खोजीमा जान निर्देशन दियो त्यसले गर्दा उनको शरीरका क्यान्सर भएकासहित प्रत्येक टी-सेलहरूलाई नष्ट गर्‍यो।

त्यसकारण त्यो चिह्नलाई थेरापीबाट हटाउनु पर्छ अन्यथा त्यसले आफैँलाई नष्ट गर्नेछ।

यदि थेरापीले काम गरेमा टी-सेलहरू सहित अलिसाको प्रतिरक्षा प्रणाली दोस्रो बोनम्यारो प्रत्यारोपणका साथ पुनर्निर्माण हुनेछ।

उक्त विवरणबारे परिवारलाई बुझाएपछि अलिसाकी आमाले “तिमीहरूले त्यो गर्न सक्छौँ” भन्ने सोचिन्।

त्यसपछि परीक्षणमा रहेको थेरापीमार्फत् लाखौँ आनुवंशिक रूपमा परिमार्जित सेलहरू लिने पहिलो व्यक्ति बन्ने निर्णय चाहिँ अलिसाको थियो।

उनले गत मेमा त्यस्तो निर्णय लिइन्।

यूसीएल र ग्रेट ओरमन्ड स्ट्रिटका प्राध्यापक वसीम कासिमले भने, “यो प्रविधिबाट उपचार गर्ने उनी पहिलो बिरामी हुन्।”

उनले आनुवंशिक हेरफेर “विज्ञानमा धेरै द्रुत गतिमा अघि बढिरहेको क्षेत्र”  भएको बताए।

यसका माध्यमबाट विभिन्न रोगहरूको उपचारको “व्यापक सम्भावना” रहेको छ।

अलिसालाई सुरुमा सङ्क्रमणको चपेटामा छोडियो किनकि डिजाइनर सेलहरूले उनको शरीरमा क्यान्सर भएका टी-सेलका साथमा रोगबाट बचाउने सेलहरूमाथि पनि आक्रमण गरे।

एक महिनापछि अलिसा शिथिल थिइन् र उनको प्रतिरक्षा प्रणाली पुन: वृद्धि गर्न दोस्रो बोनम्यारो प्रत्यारोपण गरियो।

अलिसा

त्यसपछि उनले अस्पतालमा १६ साता बिताइन्।

त्यसबेला उनलाई उनका भाईले पनि भेट्न पाएनन् किनकि उनी विद्यालय गइरहेका थिए र उनका माध्यमबाट सङ्क्रामक किटाणुहरू आउनसक्थे।

तीन महिनापछिको जाँचमा उनमा फेरि क्यान्सरको लक्षण देखिएपछि चिन्ता बढेको थियो।

तर हालै गरिएका दुईवटा अनुसन्धानबाट उनमा क्यान्सर नभएको स्पष्ट भएको छ।

“तपाईँले हरेक सानो कुराको कदर गर्न सिक्नु हुन्छ। म अहिले यहाँ छु र म धेरै आभारी छु,” उनले भनिन्।

“यो पागलपन हो। यो अचम्मको कुरा हो। मैले यो अवसर पाएँ। म यसका लागि धेरै आभारी छु र यसले भविष्यमा अन्य बालबालिकालाई पनि सहयोग पुग्नेछ।”

उनको परिवारले अब उनमा क्यान्सर कहिल्यै फर्कने छैन भन्ने आशा गरेको छ।

उनका पिता जेम्सले आफू छोरी जुन अवस्थाबाट गुज्रिइन् र अहिले जस्तो अवस्थामा आइपुगिन् त्यसबाट आफू गौरवान्वित भभएको बताउँछन्।

यो उपचारबाट वर्षमा एक दर्जनसम्म लाभान्वित हुने ठानिएको छ।

अहिले पनि परीक्षणकै क्रममा रहेको उक्त विधिबाट औषधि दिइएका १० जनामध्ये अलिसा पहिलो हुन्।

उक्त अस्पतालको बोनम्यारो प्रत्यारोपण विभागका चिकित्सक डा. रोबर्ट चेल्सी नयाँ सफलताबाट उत्साहित बनेको बताउँछन्।

उनका भनाइमा चिकित्सा क्षेत्रमा यो नयाँ प्रविधिले क्यान्सरसँग लड्न बल पुर्‍याउने देखिन्छ।

बेस एडिटिङका आविष्कारकमध्येका एक ब्रोड इन्स्टिच्युटका डा. डेभिड लिउले प्रविधि आविष्कार भएको ६ वर्षपछि त्यसका आधारमा मानिसहरूको उपचार भएको कुरा “अलि विश्वास कम लाग्ने खालको” भएको बताए।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*