Prakash Adhikari December 15, 2022

 

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल जापानको ‘अर्डर अफ द राईजिङ सन’को सम्मानबाट विभूषित हुनुभएको छ ।

नेता पौडेललाई उक्त सम्मान बिहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच नेपालका लागि जापानका राजदूत किकुता युताकाले प्रदान गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले जापानी राजदूतको निवासमा आयोजित विशेष कार्यक्रममा सो सम्मान ग्रहण गर्नुभयो ।

जापानी सम्राट् मेइजीले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिन्छ । सो बर्षका लागि यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो।

वरिष्ठ नेता पौडेललाई उहाँ सभामुख रहदा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढीकरणमा गर्नुभएको योगदानका लागि यो सम्मान दिइएको हो ।

वरिष्ठ नेता पौडेल सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहनुभएको थियो। उहाँ सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न हुनुहुन्थ्यो।

विभूषित भएपछि वरिष्ठ नेता पौडेलले उच्च सम्मानका लागि जापानी सम्राट्, सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले जापानले नेपालको विकास निर्माण, कृषि, विपद् व्यवस्थापन, प्रविधि, लोकतन्त्र संस्थागतलगायत क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप निरन्तरताको अपेक्षा गर्नुभयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वरिष्ठ नेता पौडेललाई उच्च सम्मान गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै यसले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन योगदान पुग्ने बताउनुभयो।

वरिष्ठ नेता पौडेलले आफ्नो लामो राजनीतिक जीवनकालमा सांसद, मन्त्री, सभामुखलगायत हैसियतमा देशलाई गर्नुभएको योगदान स्मरण गर्दै मन्त्री कार्कीले उहाँले सभामुखका रूपमा सन् १९९९ मा जापान–नेपालमैत्री संसदीय लिगको स्थापना गरी निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाले सरकार तहदेखि संसदीय तह र जनताको तहसम्म द्विपक्षीय सम्बन्ध विस्तार गर्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो।

साथै उहाँले सामाजिक, आर्थिक र पूर्वाधार क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गरेकामा जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कांग्रेसका नेता, सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्रीलगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो।

Share Now

Leave a comment.