Prakash Adhikari December 16, 2022

बीरेन्द्रनगर(सुर्खेत), १ पौष । नेपाल उद्योग परिसंघ प्रादेशिक स्तरमा विस्तार भएको छ ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार (मंसिर २८ गते) सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गर्नुभयो ।

कर्णाली प्रदेश उद्योग परिसंघमा नयाँ निर्वाचित कार्य समितिले जिम्मेवारी पनि सम्हालेको छ ।

पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रिया लगायत सचिवालय निर्माण गर्दै प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
सो साधारण साधारण सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समितिमा उपाध्यक्षहरु अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना विष्ठ तथा पुष्पा शाही रहनु भएको छ ।

साधारण सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदा हुँदै पनि विकासमा पछी परेको बताउनुभयो । उहाँले कर्णालीमा प्रचुरमात्रामा रहेको जडिबुटी, कर्णाली क्षेत्रका नदी र खोलाको पानीलाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके कर्णालीको छिटो विकास हुने बताउनुभयो ।

कार्यक्रममा परिसंघ प्रदेश तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, वागमती उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीलगायत सहभागी हुनुहुन्थ्यो ।

 

Share Now

Leave a comment.