Prakash Adhikari December 17, 2022

काठमाडौं, २ पौष । निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिवेदन बुझाउन प्रदेश नं.१ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त सुगनशमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकी कुमारी तुलाधरको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

ती टोलीले सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम भने निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।

Share Now

Leave a comment.