काठमाडौं, ५ पौष । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले सोमबार चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।
मतदाता नामावली सार्वजनिक गरी सोमबारबाटै चुनावी कार्यक्रम आरम्भ गरेसंगै उक्त पार्टीको संसदीय दलको नेता को बन्ला भन्नेबारे चासो व्यक्त भइरहेको छ।
नेपाली कांग्रेसका नेताहरूका भनाइमा पार्टीको संस्थापन र संस्थापनइतर समूहबाट गरी कम्तीमा दुईजना उम्मेदवार संसदीय दलको चुनावमा प्रतिस्पर्धामा उत्रिने संभावना छ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्ने संस्थापन पक्षबाट उहाँ आफै संसदीय दलको नेताका लागि उम्मेदवार बन्ने निश्चित छ।
तर संस्थापनइतर समूहबाट एकजना मात्र उम्मेदवार बन्ने अवस्थामा को उम्मेदवार हुन्छन् भन्ने सोमवार साँझसम्म टुङ्गो नलागेको बुझिएको छ।

संस्थापनइतर समूहबाट शेखर र गगन इच्छुक
कांग्रेसको पछिल्लो महाधिवेशनमा देउवाविरुद्ध सभापति पदमा प्रतिस्पर्धा गर्नुभएका डा.शेखर कोइरालाले पनि संसदीय दलको नेताको चुनाव लड्न चाहेपछि संस्थापन बाहिरको समूहभित्रै मुख्यतः दुईजना आकांक्षी देखिनुभएको छ।
शेखर समूहबाट महामन्त्री गगन थापाले आम निर्वाचनमा भोट माग्दा नै मतदातासमक्ष आफू “प्रधानमन्त्री बन्न कांग्रेस संसदीय दलको नेताका लागि पार्टीभित्रै लड्ने” प्रतिबद्धता जनाउनुभएको थियो।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि चुनावपछि उहाँलाई संसदीय दलको नेताका रूपमा समर्थन गर्ने बताइसक्नुभएको छ।
यस्तो अवस्थामा कोइराला र थापा दुवैसँग कुराकानी र छलफल गरेर एकजना उम्मेदवार तय गर्न कांग्रेसको उक्त समूहका नेताहरूले सोमवार दिनभरि छलफल गरेको विवरण आएका छन्।
संस्थापन इतरका कांग्रेस सांसद र नेताहरुहरूले दुवै आकांक्षीसँग छुट्छाछुट्टै र संयुक्त रूपमा छलफल गरेको बुझिएको छ।
यद्यपि सहमति जुटिनसकेको त्यस्ता बैठकमा सहभागीमध्ये कांग्रेसका सहमहामन्त्री एवम् सांसद् जीवन परियारले “कोइराला र थापा दुवैलाई मिलेर अघि बढ्न आग्रह गरिएको” बताउनुभयो।
उहाँका अनुसार कांग्रेस उपसभापति धनराज गुरुङको पहलमा पहिले कोइराला र थापाबाहेक संस्थापनइतरका सांसद तथा नेताहरूले छलफल गर्नुभएको थियो।
त्यसपछि कोइराला र थापालाई समेत सहभागी गराएर बैठक गरिएको थियो।
यद्यपि सोमवारको बैठकमा दुवै नेताहरूले आफू पछि नहट्ने बताएपछि “मङ्गलवार बिहान पुनः बैठक बस्ने” निर्णय भएको परियारको भनाइ छ।
सोमवार साँझ उहाँले भन्नुभयो, “उहाँहरू दुवै जनाले रातभरि सोच्छौँ भन्नुभएको छ। त्यसपछि भोली (मङ्गलवार) बिहान छलफल हुनेगरी हामीले बैठक टुङ्ग्याएका छौँ।”

पछिल्लो कांग्रेस महाधिवेशनमा देउवा र कोइराला आमनेसामने हुुनुभएको थियो
संस्थापन ‘सर्वसम्मत’को पक्षमा
देउवा समूहले भने पाँच वर्षअघिको संसदीय दलको नेता चयन गर्ने चुनावअघि जस्तै यसपटक पनि ुसर्वसम्मतु रूपमा पार्टीको नेता छानिनु पर्ने बताइरहेको छ।
उक्त समूहका नेताहरूले त्यसका लागि देउवा स्वयम्ले पनि पहल गरेको दाबी गर्नुभएको छ।
यद्यपि उहाँहरू संसदीय दलको नेता देउवा नै बन्नुपर्ने अडानमा हुनुहुन्छ।
संस्थापन पक्षका नेता एवम् कांग्रेस प्रवक्ता प्रकाशशरण महत भन्नुहुन्छ, “सकेसम्म हामी सर्वसम्मत नै निर्णय गरौँ भन्नेमा छौँ।”
“कुरा मिलेन भने सभापतिज्यू संसदीय दलका लागि चुनाव लड्नुहुन्छ।”
‘त्यस्तो चुनावमा देउवाले जित्ने ग्यारेन्टी छ त?’ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “त्यो त नतिजा आएपछि थाहा पाइहाल्नुहुन्छ नि१”
पाँच वर्षअघि पनि देउवा पक्षले संसदीय दलको नेता सर्वसम्मत रूपमा छान्ने बताएको थियो।
तर त्यसबेला पनि उक्त दलमा संसदीय दलको नेताका लागि चुनाव भयो र देउवाले चुनाव जित्नुभयो।
त्यो बेला कुल ६३ सांसद रहेको कांग्रेसमा देउवाका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याउँदा देउवाले ४४ मत ल्याउनुभएको थियो ।
देउवा पक्षले यसपालि पनि सर्वसम्मत रूपमा पार्टीको नेता चयनको कुरा गरे पनि त्यसका लागि पहल नगरेको अर्को पक्षका नेताहरूले बताउनुभएको छ।
संस्थापनइतर समूहका नेताहरूका अनुसार देउवाले सर्वसम्मत चयन हुनका लागि कुनै विकल्पसहितको योजना सुनाउने वा प्रस्ताव गर्ने काम गर्नुभएको छैन।

नेपाली कांग्रेसको झण्डा
प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेका छन्।
संसदीय दलको निर्वाचनमा तिनै ८९ जना सांसदले भोट हाल्न पाउँछन्।
त्यसमध्ये ५७ जना सांसदहरू देउवा पक्षका रहेको जानकारहरूको भनाइ छ।
त्यस हिसाबले संसदीय दलमा देउवाले नै जित्ने सम्भावना बढी देखिएको दुवै समूहका नेताहरूले बताउनुभएको छ।
देउवा पक्षका एकजना सांसदका भनाइमा हालसम्म उहाँको पक्षमा कुल ५४ सांसद खुलिसकेका छन्।
त्यस्तो अवस्थामा देउवाइतर समूहमा रहेका सांसदको सङ्ख्या ३५ हुने देखिन्छ।
तर कोइराला पक्षका नेताहरूका दाबीमा देउवाको विपक्षमा रहेका सांसदको सङ्ख्या ४० । ४१ जना रहेको छ।
कांग्रेस संसदीय दलको निर्वाचन तालिका

नेपाली कांग्रेसले संसदीय दलको नेताको निर्वाचनका लागि सहमहामन्त्री भिष्मराज आड.दम्बेको संयोजकत्वमा ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ गठन गरेको छ।
उक्त समितिले सूचना जारी गर्दै संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरिसकेको छ।
त्यसअनुसार सोमवार समितिले मतदाता नामावली प्रकाशित गरिसकेको जनाएको छ।
उक्त कार्यतालिका अनुसार मङ्गलवार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको छ।
सोही दिन उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ भने मङ्गलवार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन भने बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।(स्रातःबीबीसी)


















