मुग्लिन(चितवन), ५ पौष । पुल निर्माण गर्ने क्रममा पहाड काट्न चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मङ्गलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ ।
मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गरेर काम गर्नु परेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेर बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो ।
“अहिले पनि पहाड काट्ने काम भएको छ तर सुरक्षाको दृष्टिले र छिटो काम गर्न सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ,” आयोजना प्रमुख कार्कीले भन्नुभयो । सडक प्रयोग गर्ने यात्रुलाई बन्द गर्ने समयको विषयमा जानकारी लिएर मात्र यात्रा गर्न उहाँले अनुरोध गर्नुभयो ।
“कम्तीमा एक महिना यसरी नै सडक बन्द गरेर काम गर्नेछौँ,” कार्कीले भन्नुभयो, “कामको प्रगति हेरेर एक महिनापछि समय निर्धारण हुनेछ ।”
पुल निर्माणमा एक वर्ष लाग्ने
नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन १५ वटा पुलको निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने भएको छ । अबको सात मिहनाभित्र १० वटा पुल र बाँकी समयमा बाँकी रहेका पुल निर्माण गर्ने गरी काम अगाडि बढाइएको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।
वि.सं. २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा तोकिएको समयमा काम हुन सकेको छैन । तोकिएको म्याद यही पौष ९ गते सकिँदै छ ।
आयोजना प्रमुख कार्कीले भन्नुभयो, “कोभिड–१९ का कारण समयमा काम सकिएन । अझै एक वर्ष लाग्ने देखिएको छ । मुआब्जा वितरण, पहाड काट्नुपर्ने, जोखिम स्थानमा काम गर्नुपर्नेलगायतका कारण समयमा काम गर्न सकिएन ।”
समय थपका लागि विभागमा फाइल पठाएको जानकारी उहाँले दिनुभयो । विश्व बैङ्कको ऋण सहयोगमा पुल निर्माण भइरहेको हो ।
कार्कीका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने र त्यसका लागि एक करोड रुपियाँ माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम ढिला भएको छ ।
सो सडकखण्डका १५ वटा पुलमध्ये ५ वटा पुल ३ महिनाभित्र सम्पन्न भई सञ्चालनमा आउने गरी काम भइरहेको कार्कीले बताउनुभयो । ती पुल सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ का हुन् ।
हाल मुग्लिन–नारायणगढ सडकखण्ड ९ देखि ११ मिटर चौडाइको छ । निर्माणाधीन पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज १ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी ७ वटा पुल र प्याकेज २ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी ८ पुल छन् ।
प्याकेज १ को कुल ठेक्का रकम ६७ करोड ९९ लाख रुपियाँ रहेको छ । पुल र नक्साङ्कनका लागि ५८ करोड ४० लाख रुपियाँ लाग्ने र बाँकी रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रणलगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कुल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख रुपियाँ हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ ।


















