Prakash Adhikari December 20, 2022

काठमाडौँ, ५ पौष । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभयो ।

कार्यविधि स्वीकृतिसँगै ठूलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा श्रमिक जानका लागि बाटो खुल्ला भएको छ ।

कार्यविधि स्वीकृति भएसँगै निःशुल्क रूपमा मौसमी श्रमिक जान पाउने भएको हो ।

हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाउने गरेको थिएन । कार्यविधिले न्यूनतम दुई वर्ष करार अवधि तोकेर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि बाटो खुल्ला गरेको छ ।

दुई वर्ष करार अवधि तोकिए पनि यस अघि ६ महिनाका लागि माग हुने गरेकाले मौसमी श्रमिक जाने गरेको पाइएको थियो ।

तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् ।

मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.