Prakash Adhikari December 22, 2022

 

बालकोट(भक्तपुर)। नेकपा एमालेका पार्टी अध्यक्ष के.पी.शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको सचिवालय बैठकमा कांग्रेस नेतृत्वको गठबन्धन तोडेर सरकार बनाउने विषयमा छलफल भएको छ ।

प्रतिनिधिसभाका सदस्यहरुको शपथ ग्रहणपछि बालकोटमा बसेको एमाले सचिवालय बैठकले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने सङ्केत गरेको छ ।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको बताइएको छ ।

एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताउनुभएको थियो । उहाँले सबै पक्षसँग संवाद भइरहेको भन्दै यसलाई थप गति दिनुपर्नेमा बताउनुभयो । ओलीले एमालेको तीन वटा चासो रहेको उल्लेख गर्नुभयो ।

ओलीले पहिलो राजनीतिक स्थायित्व, दोस्रो ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने र तेस्रो राष्ट्रिय एकतालाई बलियो बनाउनेबारे चासो दिनु भएको थियो ।

उहाँले सांस्कृतिक विचलन देखिन थालेको भन्दै यसलाई बेलैमा नरोके मुलुक राजनीतिक अराजकतामा जानसक्ने भएकोले सबैसंग संवाद गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने बताउदै एमाले अध्यक्ष ओलीले काँग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ । प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला संवाद गर्न सकिने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आउनुभएको छ । प्रतिनिधिसभाकै ठूलो दल भएकोले र ताजा जनादेश काँग्रेसको नेतृत्वमा सरकार बनोस् भन्ने रहेकोले नेपाली कांग्रेसले प्रधानमन्त्री पद छोड्न सक्ने अवस्था छैन । माओवादीले हैसियत विनाको माग राखेमा एमालेमा मिलेर सरकार बनाउनुपर्ने मत कांग्रेसमा पनि छ । यस्तो मत एमालेमा पनि छ ।

 

Share Now

Leave a comment.