कीर्तिपुर(काठमाडौं),११ पौष । नेपाल टी २० अन्तरगत आज भएका दुई खेलमा फार पेस्ट युनाइटेडले काठमाडौं नाईट्सलाई र जनकपुर रोयल्सले विराटनगर किंग्स्लाई पराजित गरेका छन् ।
त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई ४ विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रन बनाए । देव खनालले १७ र भीम सार्कीले ११ रन बनाए ।
बलिङमा काठमाडौंका लागि अनिल खरेलले दुई अजमतुल्लाह उमरजाई, अविनाश बोहरा, रायन वर्ल र बसिर अहमदले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १३ र सन्तोष कार्कीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
बलिङमा फार वेस्टका लागि उमर अलीले तीन तथा हजमतुल्लाह शाहिदी, भुवन कार्कीले दुई दुई तथा शेर मल्लले एक विकेट लिए । दुई खेल सकेको फार वेस्टले पहिलो जितसँगै दुई अङ्क बनाएको छ ।
पहिलो हार खेपेको काठमाडौंको पनि समान दुई अङ्क छ ।
जनकपुर विजयी
त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई ५ विकेटले हरायो । विराटनगरले दिएको १ सय ४१ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।
जनकपुरका लागि चाडविक वाल्टनले अविजित ६९ रन बनाए जुन क्रममा उनले ५५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ट्रेभोन ग्रिफिथले २५, शरफुदिन असरफले २३ र आदिल आलमले अविजित १० रन बनाए । बलिङमा विराटनगरका लागि नन्दन यादव, हुसेन तलात र रिजन ढकालले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १ सय ४० रन बनायो । जनकपुरका लागि सिकन्दर राजाले ३८ रन बनाए । रोहितकुमार पौडेलले ३२, हुसेन तलातले २८ र अर्जुन साउदले १८ रन बनाए ।
बलिङमा जनकपुरका ललित राजवंशीले पाँच विकेट लिए । उनले चार ओभरमा आठ रनमात्र खर्चिएर पाँच विकेट लिए । बलिङमा आदिल आलम र केशरिक विलियम्सले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।
६ टोलीको सहभागिता रहेको लिग पुस ७ गतेसम्म चल्नेछ ।
पौष २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगमा विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने छन् ।


















